Sarawal notish

मौलादेवी प्राथमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

494

 

बर्दघाट,मंसिर -२

उद्योग व्यापार संघ बर्दघाटले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बर्दघाट नगरपालिका–२, संसारकोटस्थित मौलादेवी प्राथमिक विद्यालयलाई स्टेसनरी तथा खेलकुद सामग्री सहयोग गरेको छ।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपानेले उद्योगी तथा व्यवसायीहरूको हकहित संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको उद्योग व्यापार संघ बर्दघाटले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विद्यालयलाई सहयोग गरेको बताउनुभयो। संघ स्थापनाको छोटो अवधिमै विभिन्न सामाजिक तथा व्यावसायिक हितका कार्यक्रम सञ्चालन गर्न सफल भएको उल्लेख गर्दै उहाँले समग्र बर्दघाटको विकासका लागि निजी क्षेत्रको तर्फबाट निरन्तर पहल र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बरालले विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेकोमा उद्योग व्यापार संघप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि विद्यालयको शैक्षिक विकासका लागि संघबाट यस्तै सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो।

कार्यक्रमका संयोजक खुमकान्त न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण भण्डारीले गर्नुभएको थियो।