Sarawal notish

बर्दघाट विकासको ब्लुप्रिन्टको विवेचना

501

चाडपर्वको समयमा टाढा टाढाबाट आएका व्यक्तिहरू एकै ठाउँमा जम्मा हुने, शुभकामना आदानप्रदान गर्ने तथा कतिपय अवस्थामा विकासका विषयमा छलफल र बहस गर्ने चलन हुन्छ। चाडपर्वका अवसरमा अन्य समयमा गाउँघरमा नआउने व्यक्तिहरू पनि आउने भएकाले आपसी चिनजान, भेटघाट र सम्बन्ध विस्तार गर्ने अवसरसमेत प्राप्त हुन्छ। त्यसैले यस्ता अवसरलाई सदुपयोग गर्दै कार्यक्रम आयोजना गर्ने गरिन्छ। साथै दसैँ तिहारको समयमा लामो सार्वजनिक बिदा हुने भएकाले पनि यस्ता कार्यक्रम आयोजना गर्नु सान्दर्भिक मानिन्छ ।

यसै सिलसिलामा भाइटीकाको पूर्वसन्ध्यामा कार्तिक २३ गते बर्दघाट नगरपालिकाका उपप्रमुख श्री रुद्रप्रकाश उपाध्यायद्वारा लिखित बर्दघाट रूपान्तरणको ब्लुप्रिन्ट नामक पुस्तकको विमोचन कार्यक्रम आयोजना गरिएको थियो। बर्दघाटको विकासका सम्बन्धमा उपप्रमुखको कार्यअनुभवको आधारमा तयार गरिएको पुस्तकको विमोचन कार्यक्रम रुद्रप्रकाश उपाध्यायको अध्यक्षता, पत्रकार कुस्माकर ढकालको सञ्चालन, शैक्षिक, सामाजिक राजनैतिक क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, विद्यार्थी र नगरवबासीहरुको सहभागिता भएको थियो ।

उपप्रमुखका देखाई, भोगाई, गराई, दियाई,  इच्छा, आकाँक्षा, आशा, अपेक्षा, प्रोत्साहन, नतिजा, सुझाव, बर्दघाटको माटो, मानिस, नागरिक मनोविज्ञानव, आफूले देखेको बर्दघाट र अनुभवले सिकाएको विकासको पाठ र वर्तमान बर्दघाटको यथार्थले पुस्तक भरिएको थियो ।

यो किताब कुनै साहित्यिक ग्रन्थ थिएन भन्ने कुरा विकासको ब्लु प्रिन्टले नै प्रष्टाएको थियो ।पुस्तकमा सबैभन्दा बढी जोड दिइएको विषय सुशासन र तथ्यमा आधारित विकासको नयाँ मोडेल थियो । पुरानो परम्परागत शैलीलाई त्यागेर प्रमाण र तथ्यका आधारमा विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा पुस्तकमा समेटिएको थियो। त्यसैगरी, आत्मनिर्भरतादेखि समृद्धिसम्मको यात्रालाई अघि बढाउन कृषि, पर्यटन, सीप र अवसरमार्फत नागरिकलाई आत्मनिर्भर बनाउने बर्दघाटको अवधारणासमेत पुस्तकमा समेटिएको थियो ।

टिप्पणीकारले पुस्तकमा उल्लेख भएका विषयहरूका बारेमा आफ्नो धारणा राख्नुभयो। कार्यक्रममा सहभागीहरूले उपप्रमुख र नगरपालिकाभित्रका मध्यमवर्गीय व्यक्तित्वहरू एकै ठाउँमा जम्मा भएको अवसरमा आफ्ना गुनासाहरू पनि राखे। अधिकांशले रुद्रप्रकाश उपाध्यायका सकारात्मक पक्षहरूकै बारेमा उल्लेख गरे ।  विकासविद् तथा योजनाकारहरूको भन्दा साहित्यकारहरूको उपस्थिति बढी रहेको उक्त कार्यक्रममा पुस्तकको साहित्यिक कृतिका दृष्टिकोणबाट विवेचना भयो। यसले सबैलाई राम्रै गर्‍यो।

पुस्तक कसरी विकासकै ब्लुप्रिन्ट भयो र उहाँले कसरी हाम्रा अनुभवलाई अभिलेखीकरण गर्नुभयो भन्ने विषय उठे । विकास के हो र स्थानीय तहका इश्युहरू के हुन् भन्ने कुरा उजागर गर्नुपर्ने आवश्यकता थियो । रात परेपछि सडकबत्ती बाल्नुपर्ने, उज्यालो भएपछि निभाउनुपर्ने, सडकमा मानिस अलपत्र परे उद्धार गर्नुपर्ने र सडकमा छाडिएका वस्तुभाउको व्यवस्थापन गर्नुपर्ने जस्ता विषय पनि नागरिकका आधारभूत सरोकार हुन्। नागरिकका कोर इश्यु के हुन् र कुन विषयलाई प्राथमिकता दिनुपर्ने हो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ जुन स्थानीय विकासको मोडेल हो।

उपप्रमुख हुँदाको उहाँको भोगाइको प्रतिविम्ब पुस्तकमा देखिएको थियो। उहाँले परिकल्पना गर्नुभएका धेरै कामका बारेमा फेरी लेख्नुपर्ने थियो भन्ने तर्क थियो। उहाँले अत्यन्तै सिर्जनशील विचारहरू व्यवहारमा लागू गर्न खोज्नुभएको थियो। तर माओवादीको प्रतिनिधित्व न्यून भएका कारण ती विचार कार्यान्वयन हुन सकेनन् । उहाँ माओवादी पृष्ठभूमिको व्यक्ति भएकाले उहाँको विकाससम्बन्धी सोच सोही पार्टीको सिद्धान्तका आधारमा विकसित भएको हुन सक्छन । उहाँले पाडापाडी पाल्ने कार्यक्रमको परिकल्पना गर्नुभएको थियो जसका लागि उन्नत जातको राँगासमेत वितरण गर्नुभएको थियो। उहाँको उक्त विचारले नेपालमा मासुको आयात प्रतिस्थापन गर्न सक्ने सम्भावनातर्फ संकेत गरेको भन्दै उहाँको विकासप्रतिको सोच र पुस्तकले प्रस्तुत गरेका विषयबारे विचार व्यक्त भए ।

नगरको रूपान्तरणको कुरा गर्दा नागरिकको भोगाइ र जनजीविकासँग सम्बन्धित विषयहरू पनि महत्त्वपूर्ण हुन्छन्। जस्तै नगरभित्रका खोलाघोलाको सफाइको आवश्यकता र औचित्य तथा त्यसको भुक्तानी प्रक्रियामा रहेका उल्झनहरू। त्यतिबेलाका नगर अस्पतालका अध्यक्षले गरेको व्यवहारबाट पनि उपप्रमुखको मनमा केही कुरा परेको थियो होला । ती विषय पुस्तकमा समावेश नगरिएको भए तापनि विकासका प्राथमिकताका बारेमा भने उल्लेख गर्नुभएको थियो।

उक्त विमोचन कार्यक्रममा विनोद चौधरी र उहाँको विकाससम्बन्धी दृष्टिकोणसमेत उल्लेख भयो । विनोद चौधरीले आफनो एमपीको कार्याकालमा नवलपरासीको विकासको मार्गचित्र प्रस्तुत गर्नुभएको थियो। उहाँको विकासको मार्गचित्रमा उपप्रमुखको हैसियतले रुद्रप्रकाश उपाध्यायका विचारहरूसमेत समेटेर प्रस्तुति गरिएको थियो। विकास व्यवस्थापनका सन्दर्भमा विनोद चौधरीलाई समेत सघाउन ल्याकत राख्ने व्यक्ति रुद्रप्रकाश उपाध्याय हुनुहुन्छ भन्ने आशय व्यक्त भयो।

नगरको विकासको ब्लुप्रिन्ट नाम राखेर प्रकाशित गरिएको पुस्तकको विमोचनमा नगरप्रमुखले लिएको नीतिगत अवधारणा उल्लेख गर्नु नराम्रो होइन। नगरप्रमुख र उप्रमुख दुवै विकासवादी सोच भएका व्यक्ति हुनुहुन्छ । दुवै असल जनप्रतिनिधि भएका कारण विकासले गति लिएको छ र नगरपालिकाले राम्रो काम गरेको छ।

कुनै पनि पुस्तकका बारेमा चर्चा गर्दा त्यो पुस्तक लेख्दाको पृष्ठभूमि कस्तो थियो, कस्तो परिवेशमा पुस्तक लेखिएको थियो, पुस्तक लेख्ने प्रेरणा कहाँबाट प्राप्त भयो, लेखक राजनीतिक पृष्ठभूमिको व्यक्ति भएको कारण कुन राजनीतिक दर्शनबाट प्रेरित भएर पुस्तक लेखियो र उसको सामाजिक पृष्ठभूमि कस्तो छ भन्ने यावत् कुराहरूको उपउत्पादनका रूपमा पुस्तक आएको हुन्छ। जहाँ गएको हो, त्यहीँको परिवेशअनुसार प्रस्तुत हुनुपर्छ भन्ने कुरा स्वाभाविक हो। तर शोकसभामा गएर हाँस्नु हुँदैन होला, तथापि उहाँले सबैलाई गलल्ल हँसाउनुहुन्थ्यो भन्नु अन्यथा होइन जस्तो लाग्छ।

विकासको ब्लुप्रिन्टका सम्बन्धमा ह्रस्व दीर्घ, छन्दलगायतका भाषिक तथा साहित्यिक पक्षहरू हेरिएलान्, तर यसले आम मानिस तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई कसरी सम्बोधन गरेको छ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ। उपप्रमुखले सफाइकर्मीहरूलाई प्रोत्साहन गर्दै माला, खादा, नगद  र रातो टीका लगाएर सम्मान गर्नुभएको थियो। उहाँ सीमान्तकृत वर्गको पक्षधर व्यक्ति हुनुहुन्छ। त्यसकारण उहाँको कृतिले पनि यस्ता विषयहरूलाई सम्बोधन गर्ने तिर संकेत गरेको छ ।

विकासको ब्लुप्रिन्ट नाम दिइएको पुस्तकको विमोचनमा साहित्यिक पक्षको चर्चा हुनु स्वाभाविक हो। तर भाषिक सौन्दर्य र अभिव्यक्तिमा मात्र सीमित हुनु हुँदैन। त्यसले उठाएका विकासका मुद्दा, लेखकको अनुभवबाट निस्केका निष्कर्ष, नीतिगत दृष्टिकोण, विकासका प्राथमिकता र सीमान्तकृत नागरिकको जीवनमा पर्ने प्रभावबाट मूल्याङ्कन हुनुपर्छ। पुस्तकको शीर्षकले नै विकासको मार्गचित्रको अपेक्षा गरेको हुँदा यसको चर्चा साहित्यिक विमर्शसँगै विकासको दर्शन, अर्थशास्त्र, सुशासन र कार्यान्वयनको दृष्टिकोणबाट हुनुपर्छ । 

सुरुवातमै भन्नुपर्ने धेरैजसो कुरा पूर्ववक्ता मित्रहरूले नै भनिसक्नुभएको छ। त्यसैले पुस्तकमा लेखिएका विषय र शब्दहरूको पुनरावृत्ति गर्नुभन्दा यसको पृष्ठभूमि, स्थानीय विकासका विभिन्न आयाम, उपप्रमुखको भमिका, उहाँको धारणा, विकाससम्बन्धी सोच र कामप्रतिको लगावका विषयमा केही फरक दृष्टिकोणबाट आफ्नो कुरा राख्न चाहने व्यक्त भयो ।

पुस्तकलाई मात्र केन्द्रमा नराखी पुस्तक लेखिनुको पृष्ठभूमि, लेखकको राजनीतिक तथा सामाजिक परिवेश, उपप्रमुखका रूपमा उहाँको कार्यशैली, स्वभाव, सोच र विकासप्रतिको दृष्टिकोणलाई जोडेर धारणा प्रस्तुत भए । उहाँ कस्तो प्रकृतिको उपप्रमुख हुनुहुन्थ्यो, स्थानीय विकासका विषयमा उहाँको प्राथमिकता के थियो, कस्ता काम गर्न खोज्नुहुन्थ्यो र ती कामप्रति उहाँको लगाव कस्तो थियो भन्ने विषयहरु उठान भए । यी विषयहरू अलि खरो, स्पष्ट र मिजासिलो शैलीमा प्रस्तुत गरिएको थियो । त्यसमा साहित्यिक शैली, भावुकता र प्रशंसाभन्दा अनुभव, तथ्य, कार्यशैली र विकासका आयामलाई बढी प्राथमिकता दिइएको थियो।

तर त्यहाँ उपस्थित केहि साहित्यकारहरूले साहित्यिक पक्षका बारेमा मात्र अपेक्षा गर्नुभएको रहेछ। उहाँहरूले “तपाईंहरू विमोचनजस्तो कार्यक्रममा सहभागी नै हुनुभएको रहेनछ, तपाईंहरूलाई थाहा नै रहेनछ” भन्न आसय व्यक्त गर्नुभयो ।  सम्भवतः उहाँहरूले विमोचन कार्यक्रमलाई साहित्यिक विमर्शका रूपमा बुझ्नुभएको थियो भने सहभागिले त्यसलाई लेखकको व्यक्तित्व, अनुभव, विकाससम्बन्धी सोच र पुस्तकको अन्तर्वस्तुसँग जोडेर हेर्ने प्रयास गरेका थिए ।

विवेचना 

कृष्णप्रसाद सापकोटा

उपसचिव नेपाल सरकार