कृष्ण ढकाल
बर्दघाट, कार्तिक–२२
सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट नगरपालिका–५, पाल्डाँडाको आयोजनामा शुभदीपावली तथा छठ पर्वको अवसर पारेर बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपाली मौलिक कला, संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार साँझ सम्पन्न भएको हो।
प्रतिष्ठानका अध्यक्ष गंगाबहादुर भण्डारी क्षेत्रीको अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा नं. ५ की वडाध्यक्ष विमला गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले नेपाली समाजको मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामाझ यसको महत्व बुझाउन यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय स्तरमा रहेका कला, संस्कृति र प्रतिभाको पहिचान तथा प्रवद्र्धनका लागि प्रतिष्ठानले गरेको प्रयासको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले बर्दघाट नगरपालिका वडा नं. ५ नेपालका सय महत्वपूर्ण गन्तव्यहरूमध्ये एक प्रमुख स्थानका रूपमा परिचित रहेको उल्लेख गर्दै आफ्नो वडा यस्तो महत्वपूर्ण स्थानका रूपमा चिनिनु गर्वको विषय भएको बताउनुभयो। स्थानीय क्षेत्रको पहिचान, पर्यटन तथा सांस्कृतिक विकासमा सबैको साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा वडा सदस्य शोभाकान्त लामिछाने, मिलन पाण्डे, बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष क्या. मानबहादुर थापा, बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल, बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, प्रतिष्ठानका सल्लाहकार उत्तमध्वज के.सी. लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष पार्वती सिंह मल्लले स्वागत मन्तव्य राख्दै सांस्कृतिक पहिचानको संरक्षण र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो।
सांस्कृतिक कार्यक्रममा विभिन्न विधाका २१ वटा गायन तथा नृत्य प्रस्तुति समावेश गरिएको थियो। स्थानीय कलाकारहरूको गायन तथा नृत्य प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। विशेषगरी लोकदोहोरी गायक नवीन सुनार र गायिका शिला गुरुङको विशेष सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

शुभदीपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रमले स्थानीय कला, संस्कृति र प्रतिभालाई एउटै मञ्चमा जोड्नुका साथै आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पु¥याएको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन शालिकराम लामिछानेले गर्नुभएको थियो।
