कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२०
बर्दघाट नगरका सहकारीहरुले आफ्ना शेयर सदस्यहरुले लगेको ऋण असुलीमा नगरसरकारले सहजीकरण गरीदिन अनुरोध गरेका छन । बर्दघाट नगरपालिकाको सहकारी शाखाले आयोजना गरेको “सहकारी संस्थाको आ.ब. २०८२/०८३ को बार्षिक समिक्षा कार्यक्रम”मा बोल्नेक्रममा सबै सहकारीहरुको साझा अनुरोध संस्थाको ऋण असुलीमा नगर सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।
नगरका वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष्,लेखा सुपरिवेक्षण समितिका संयोजक र ब्यवस्थापकहरु सहभागि रहेको कार्यक्रममा संस्थागत प्रस्तुती गर्दा सबै सहकारीहरुले आफ्नो संस्थाको रकमको तरलता रहेको,बैंक ब्याज प्राप्त नभएको,ऋणीहरुको भाखा नाघनेक्रम बढ्दैगएको, लगानीयोग्य वातावरण नभएको नियमनकारी निकायको सक्रियतामा कमी रहेको जस्ता कारणले सहकारीहरु समस्यामा परेको गुनासो गरेका थिए ।
सहकारी संस्थाहरुमा दोहोरो सदस्यताले कतिपय अवस्थामा समस्या पारेको अनुभव सुनाउदै केहि ऋणीले पालैपालो आफु शदस्यभएका सबै सहकारीहरुबाट ऋण खाने तर भाखामा नतिर्ने र उल्टै दुर्गापछाईको टिममा सहभागि भएर संस्थालाई समस्यामा पार्नखोज्ने जस्ताकाम गरेको गुनासो समेत गरेका थिए ।
उनीहरुले नगरका सहकारीका खराव ऋणीहरुलाई पहिचान गर्नका लागि बर्दघाट नगरपालिकाको सहकारी शाखाले ऋणीहरुको सुचना केन्द्र बनाएर डबल ऋण लिने प्रथाको न्युनिकरण गर्न अनुरोध गरेका छन । त्यसैगरी खराब ऋणीहरुको बिजुली ,पानी तथा नगरसरकारबाट प्रदान गर्ने सेवामा समेत रोक लगाएतर भएपनि सहकारी संस्थाहरुको खराब ऋण असुलीमा सहयोग गर्न नगर समक्ष आग्रह गरेका थिए ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको बार्षिक समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरमा रहेका केहि सहकारी संस्थाहरुले ऋण लगानी गर्दा ऋणीको आयश्रोतको सहिपहिचान गर्न नसकेका कारणले पनि समस्या आएको बताउनु भएको थियो । न्युनतम रुपमा सहकारीहरुले केहि आवश्यक कार्यविधिहरु लागु नगरेका कारणले पनि समस्या भएको नगरको नियमन तथा अनुगमनका क्रममा भेटिएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले सहकारीहरुमा वित्तिय अनुसासन हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो । सहकारीहरु आफैमा जिम्मेवार हुने,शेयर सदस्यहरुको आम्दानीको सहि पहिचान गरेरमात्र ऋणलगानी गर्ने, नातावाद र कृपावादका आधारमा कागजात मिलाएर ऋण नदिने गर्नु पर्ने धारणा राख्नु भएको थियो । लगानी गरेको ऋणीहरुको अनुगमन गरीरहने ,ब्यवसायीक तथा उद्योगी ऋणीहरुको ब्यवसायलाई सहयोग पुग्नेगरी बजारीकरणमा सक्दो सहयोग गरीदिने र एक आपसमा सहकारीहरु विच असल अभ्यासहरुको आदान प्रदान तथा ब्यवसायीक सहकार्य गर्नेहो भने सहकारीहरुका धेरै समस्याहरु आफै समाधान गर्न सकिने बताउनु भएको थियो ।

बर्दघाट नगरपालिकाको सहकारी शाखा प्रमुख सृजना अर्यालको सञ्चालनमा भएको “सहकारी संस्थाको आ.ब. २०८२/०८३ को बार्षिक समिक्षा कार्यक्रम”मा बर्दघाट नगरमा रहेका १९ वटा वचत तथा ऋण सहकारी संस्थाहरुको सहभागिता रहेको थियो । नगरमा अहिले १२ बटा बहुउद्धेश्यीय सहकारी र ११ वटा कृषि सँग सम्वन्धित सहकारीहरु सञ्चालनमा रहेका छन ।
