सरावल,कार्तिक–२६
दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला–२०८३ मा मेलाको विशेष आकर्षणका रूपमा भोजपुरी चलचित्रका चर्चित अभिनेता तथा गायक दिनेशलाल यादव ‘निरहुवा’ले कार्तिक २७ गते दिउँसो २ बजे प्रस्तुति दिने भएका छन्।
सरावल उद्योग वाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरेले पत्रकार सम्मेलन आयोजना गरी आगामी सांगीतिक कार्यक्रमबारे जानकारी गराउनुभएको हो। उहाँले मेलालाई सफल बनाउन दर्शक तथा आम नागरिकको साथ र सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै मेलास्थलमा उपस्थित भई मेला अवलोकन गर्न तथा कलाकारहरूको सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन लिन सम्पूर्ण दर्शकमा आग्रह गर्नुभयो।
पत्रकार सम्मेलनमा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले मेला स्थानीय कृषि, पर्यटन, संस्कृति तथा व्यापार प्रवर्द्धनसँगै सरावलको आर्थिक र सामाजिक पहिचान स्थापित गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो।
त्यस्तै, संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले मेलालाई सफल बनाउन सबैको साथ, सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो।
आयोजकका अनुसार कार्तिक २७ गते दिउँसो २ बजे निरहुवासँगै गायक श्याम राना, कपिलदेव धवल, लोकगायक शुक्र बिजी, मोडल तथा डान्सर प्रिया चौधरी र दुर्गा नेपालको प्रस्तुति रहनेछ।
त्यसैगरी, कार्तिक २८ गते चर्चित गायिका ज्योति मगर र माहि मनिषाको प्रस्तुति रहनेछ भने कार्तिक २९ गते गंगु क्षेत्रीले पुनः आफ्नो सांगीतिक तथा नृत्य प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछिन्। उक्त दिन ‘बंगला खुला खुला’ गीतको आकर्षणसमेत रहने आयोजकले जनाएको छ।
कार्तिक ३० गते ‘मोस्ट डिमान्डेड’ तथा ‘द किङ अफ द स्टेज’का रूपमा परिचित गायक दुर्गेश थापाको विशेष प्रस्तुति रहनेछ। त्यस्तै, मंसिर १ गते भारतीय चर्चित अभिनेत्री काजल राघवानी र भोजपुरी गायक तथा अभिनेता राजा भोजपुरियाको प्रस्तुति रहनेछ भने मंसिर २ गते माेडल डान्सर प्रीति पासवानको सांगीतिक प्रस्तुति रहनेछ।
सरावल गाउँपालिका–२, मगरमुढास्थित खेलमैदानमा सञ्चालन भइरहेको मेला मंसिर २ गतेसम्म चल्नेछ। मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिका अतिरिक्त कृषि, पर्यटन, व्यापारिक प्रदर्शनी तथा बालबालिका र दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन भइरहेका छन्।
‘कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार, सरावलको दिगो विकास र अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित आयोजित मेलाले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला–२०८३ मा मंसिर २ गतेसम्म चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने भएको छ।
