Bardaghat notish

हाम्रो सुपर सहकारीको चिसापानी इकाई भेला अर्थात निर्णय प्रमाणीत भेला सम्पन्न

556

कृष्ण ढकाल
बर्दघाट, असोज–१७

बर्दघाट नगरपालिका–२, चिसापानीस्थित हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभाका लागि केन्द्रिय कार्यालय अन्तर्गतको चिसापानी इकाई भेला अर्थात निर्णय प्रमाणीत भेला सम्पन्न भएको छ । संस्थाका का.व. अध्यक्ष मनोहर रायमाझीको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन संस्थाकी सचिव कमलाकुमारी गुरुङले गर्नुभएको थियो।

सभामा अध्यक्ष रायमाझीले संस्थाको वार्षिक प्रगति तथा आगामी कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै सचिव कमलाकुमारी गुरुङले सचिवको प्रतिवेदन, कोषाध्यक्ष रुक्मागत पाण्डेले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक माधवप्रसाद अधिकारीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

संस्थाकाे वार्षिक प्रतिवेदन अनुसार हाल सहकारीमा ६ हजार ६ सय ३३ जना शेयर सदस्य रहेका छन्। तीमध्ये महिला सदस्य ४ हजार ३०१ र पुरुष सदस्य २ हजार ३३० जना रहेका छन्। संस्थाको कार्यक्षेत्र बर्दघाट र रामग्राम नगरपालिका तथा सरावल र प्रतापपुर गाउँपालिकाका सबै वडासम्म रहेको छ।

साधारण सभामा प्रस्तुत विवरणअनुसार संस्थाले पछिल्लो आर्थिक वर्षमा बचत तथा ऋण लगानीलगायतका क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ। आगामी वर्ष शेयर सदस्य वृद्धि, शेयर पुँजी, बचत, ऋण लगानी तथा कुल सम्पत्तिमा थप वृद्धि गर्ने लक्ष्यसमेत संस्थाले लिएको छ।
३ करोड ८० लाख २० हजार २ सय शेयर पुंजी रहेको हाम्रो सुपर साकोसले ४७ करोड ४७ लाख २३ हजारट सय ४६ रूपैया बचत गरी ३५ करोड ६९ लाख ८ सय ६१ रूपैया ऋणा लागनी गरेको छ भने आफ्नो जगेडाकोषमा २ करोड ४८ लाख ७३ हजार ३ सय ४६ रुपैया जम्मा गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसैगरी कुल सम्पति ५७ करोड ३छ लाख ८९ हजार ५ सय ९ रुपैया रहेको जनाएको छ ।

सभामा विभिन्न प्रकृतिका उत्कृष्ट बचतकर्ता तथा शेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष तथा एसियाली ऋण महासंघ (अकू) का द्वितीय उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संस्थामा सबै सदस्यको कुरा समान रूपमा सुनुवाइ हुनुपर्ने बताउनुभयो। उहाँले सहकारी संस्थाहरूबीच असल काममा प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै सदस्य, सञ्चालक र कर्मचारी सबैको साथ र सहयोगबाट मात्र संस्था बलियो, व्यवस्थित र भरपर्दो बन्ने धारणा व्यक्त गर्नुभयो। ढकालले सहकारीको दिगो विकासका लागि सदस्यको विश्वास कायम राख्दै पारदर्शिता, सुशासन र जिम्मेवार वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।