Bardaghat notish

बाल प्रतिभाको उजागर गर्न ः भित्ते पत्रिका प्रकाशन

941

कृष्ण ढकाल
बर्दघाट ,
ब्लुमिङ्ग बड्स बोर्डिङ्ग स्कुल विनयी त्रिवेणी –६ शिवपुरगढीको आयोजनामा बाल भित्ते पत्रिका प्रकाशन सम्बन्धि तीन दिने तालिम बुधबार सम्पन्न भएको छ।

बिद्यार्थीहरुमा रहेको सृजनशील प्रतिभालाई उजागर गर्ने उद्देश्यले विद्यालयले आयोजना गरेको बालपत्रकारीता तथा भित्ते पत्रिका प्रकाशन तालीममा ५० जना छात्रछात्राहरुलाई सहभागीता गराइएको विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार रौनियारले बताउनु भएको छ ।

बर्दघाट प्रेस क्लबका अध्यक्ष तथा नेपाल टेलिभिजनका सम्वाददाता एवं गाउँले दर्पण अनलाइनका पत्रकार कुस्माकर ढकाल (कृष्ण)ले सहजीकरण गर्नु भएको उक्त तालिम भदौ १ गते देखि ३ गते सम्म सञ्चालन भएको थियो ।

विद्यार्थीको प्रतिभा प्रस्फुटन गारउने उद्धेश्यले ब्लुमिङ्ग बड्स बोर्डिङ्ग स्कुलले आयोजना गरेको बाल भित्ते पत्रिका प्रकाशन तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विनयी त्रिवेणी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले विद्यार्थीहरुलाई किताबी शिक्षा मात्र नदिएर भित्ते पत्रिका प्रकाशन सम्बन्धि ज्ञान दिई विद्यालयले रचनात्मक कार्यको थालनी गरेको बताउनु भयो।

विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार रौनियारको अध्यक्षतामा आयोजित तालिममा बोल्दै प्रमुख अतिथि शाहले बालबालिकाद्वारा प्रस्तुत सामाग्रीबाट विषयवस्तुको प्रारम्भिक ज्ञान प्राप्त भएको महसुस गराएको भन्दै आगामि दिनमा बालभित्ते पत्रिका प्रकासन कार्यलाई थप निरंतरता दिनु पर्ने धारणा राख्नु भयो।
त्यसैगरी विद्यालयका प्र।अ। रौनियारले विद्यालयमा नयाँ सीप र ज्ञानलाई विद्यार्थी समक्ष पुर्याउन सकिए त्यसको नतिजा पनि संतोषजनक आउने धारणा राख्दै ग्रामीण भेगमा स्थपना भएका बोर्डिङ्ग स्कुलबाट पनि गुणस्तरीय शिक्षा प्रदान गरेर अभिभावक वर्ग र समाजलाई सन्तुष्ट पार्ने अभियानमा आफुहरु लागेको धारणा राख्नु भएको थियो।
शिक्षिका प्रकृति आचार्यले सञ्चालक गर्नु भएको समापन कार्यक्रममा प्रशिक्षक कुस्माकर ढकाल, विद्यालयका शिक्षक सन्तोष थापा मगर ,पत्रकार आर।पि।उपाध्याय र तालिममा सहभागी विद्यार्थीह अन्वेशा थापा,समृद्धि राना लगायतले आ–आफ्नो अनुभव सहितको मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बिद्यार्थीहरुले बालपत्रकारीता र बालभित्तेपत्रिका प्रकाशन तालीम लिंदा तयारगरी प्रकाशन गरेका भित्ते पत्रिका प्रदर्शन गरिएको थियो ।