sunwal

दुईदिने उत्प्रेरणामूलक कार्यक्रम सुरु

564

कृष्ण ढकाल
बर्दघाट, साउन–३०
सकारात्मक सोच रचनात्मक जीवनशैलीका साथ आधारभूत योग शिक्षा मार्फत व्यक्तित्व विकास गर्ने उद्देश्यले बर्दघाटमा दुईदिने उत्प्रेरणामूलक कार्यक्रम सुरु भएको छ।
बर्दघाट नगरपालिकाको आयोजनामा शुरु भएको उक्त कार्यक्रममा पहिलो दिन नगरभित्रका विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई प्रशिक्षण गरीएको छ भने दोस्रो दिन नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

नगर प्रमुखका १२ अभियान कार्यक्रमवाट सञ्चालन गरीएको सकारात्मक सोच र चनात्मक जीवनशैली बिषयक कार्यक्रममा मानव सेवा आश्रमका सञ्चालक एवं उत्प्रेरक रामजी अधिकारीले प्रशिक्षण गर्नु भएको छ ।
लण्डनवृज रिर्सोटको सभाहलमा सञ्चालन भएको कार्यक्रममा सकारात्मक सोच, जीवनप्रतिको दृष्टिकोण, तनाव व्यवस्थापन, मानवीय संवेदना तथा रचनात्मक जीवनशैलीका विषयमा प्रशिक्षण दिइएको छ ।

कार्यक्रम सहभागीलाई स्वस्थ्य र सन्तुलित जीवनशैलीका लागि आधारभूत योग शिक्षाका वारेमा पतञ्जली योग समितिका केन्द्रिय प्रभारी लवदेव मिश्रले समेत योगका वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले शिक्षण पेशामा रहेका व्यक्तिहरूको सकारात्मक सोच र व्यवहारले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले आफुले यसप्रकारको कार्यक्रमको आयोजना गरेको बताउनु भयो । समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन हरेक व्यक्तिमा सकारात्मक सोच र स्वस्थ्य जीवनशैलीको विकास आवश्यक रहेको उहाँको भनाइ थियो।

त्यसैगरी नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले योग र सकारात्मक सोचलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिनु भएको थियो । तनावपूर्ण जीवनशैलीका कारण मानिसमा विभिन्न समस्या बढ्दै गएकाले मानसिक शान्ति, शारीरिक स्वास्थ्य र सकारात्मक सोचका लागि यस्ता कार्यक्रम उपयोगी हुने धारणा राख्नु भएको थियो ।

प्रमुख प्रशिक्षक रामजी अधिकारीले मानिसको जीवनमा सकारात्मक सोचले ठूलो परिवर्तन ल्याउन सक्ने भन्दै आफूभित्रको क्षमता पहिचान गरी समाज र राष्ट्रका लागि रचनात्मक योगदान गर्न सहभागीलाई आग्रह गर्नु भएको थियो। उहाँले योग, ध्यान, अनुशासन र मानवीय सेवाको भावनाले जीवनलाई थप अर्थपूर्ण बनाउन सकिने बतानु भयो ।