कृष्ण ढकाल
बर्दघाट,असोज–२७
सामुदायिक वन समूहहरुले वन संरक्षण सँग–सगै अब वनमा हुने संभावीत जडबिुटीहरुको पहिचान तथा अनुसन्धान गर्ने र त्यसलाई प्रसोधन गरेर दिर्घकालिन आम्दानीका स्रोत बनाउतर्फ लाग्नुपर्ने संघिय सांसद विक्रम खनालले बताउनु भएको छ ।
श्री संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहको २३ औँ वार्षिक साधारणसभालाई सम्बोधनगर्दै सांसद खनालले उक्त कुरा बताउनु भएको हो । त्यसैगरी वनमा रहेका खोला खोल्सीहरुबाट उत्खनन गर्न रोक लगाउदा खेतीयोग्य जमिन र वस्तीहरु डुबानमा पर्ने समस्या देखि विकास निर्माणमा समेत असर पर्ने गरेका कारण ब्यस्थीत रुपले सहज बनाउदै उत्खनन गर्ने वातावरण बनाउनु पर्नेमा समेत जोड दिनु भएको थियो । कहिकतै कानुनि रुपमा समस्या भएकाले वनसँग सम्वन्धित सरोकारवालाहरुको कार्यशाला गोष्ठी राख्न सिनियर डिभिजन वन अधिकृत धनिश्वर न्यौपानेलाई निर्देशन समेत दिनु भएको थियो ।
समूहका अध्यक्ष बमबहादुर खत्रीको अध्यक्षता र संघीय सांसद विक्रम खनालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले भुमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गाप्राप्तीका लागि बर्दघाट नगरपालिकाले स्वघोषणा फारम दशैं अघि नै पठाउने तयारीमा रहेको बताउनु भएको थियो । त्यसैगरी सामुदायिक वनले आम्दानी र खर्च बराबर बनाउनमा मात्र सीमित नरही विपतको समयमा प्रभावितहरूलाई सहयोग गर्न विशेष कोष स्थापनातर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो ।
सिनियर डिभिजन वन अधिकृत धनिश्वर न्यौपानेले वैज्ञानिक वन व्यवस्थापन र वन सम्बर्द्धन प्रणाली एउटै भएकाले नाममा भन्दा काममा ध्यान दिन आग्रह गर्नु भयो। वन समूहहरुले काठबिक्रिको २५ प्रतिशत रकम प्रदेश सरकारलाई दिनु पर्ने कानुनी बाध्यता रहेको भन्ने भ्रम नगर्न पनि अधिकृत न्यौपानेले आग्रह गर्नु भयो । कानुनमा स्पष्टसँग वन समुहहरुले आफ्ना उपभोक्ताहरुलाई बिक्रि गरेको काठको ५ प्रतिशत र बाहिर विक्रीगरेको काठको मात्र २५ प्रतिशत रकम प्रदेश सरकारलाई दिनुपर्ने भनेर उल्लेख गरेको बताउनु भयो ।
सोही कार्यक्रमा बोल्दै वैज्ञानिक वन व्यवस्थापन राष्ट्रिय उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष रेनु सेनले नवलपरासीका सिनियर डिभिजन वन अधिकृतले वैज्ञानिक वन व्यवस्थापन राष्ट्रिय उपभोक्ता महासंघमा आवद्धता रहेका वन समूहहरुलाई कार्वनसँग सम्वन्धित कार्यक्रममा वाईपास गरेको आरोप लागाउनु भएको थियो । उहाँले सामुदायिक वनहरुले काठ–दाउरा बिक्री गरी करोडौँ कमाउने आरोप लाग्ने गरेता पनि त्यो सत्य नभएको र कार्ययोजना अनुसार नीति, विधि र पद्धतिमा रहेर नै खर्च गरिने गरेको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै बर्दघाट नगरपालिका वडा नं १० का वडा अध्यक्ष राजू मिश्रले वनक्षेत्रमा विकास निर्माण गर्न नपाइने भए पहिले सरोकारवालाहरुसँग आफु स्वयम बसेर बनाएका योजनाहरुमा लाखौंको रकम विनियोजना गर्न लगाएकोले त्यो रकमको कामगर्न हुने वा नहुने प्रस्टपार्न सिनियर डिभिजनल वन अधिकृतलाइ आग्रह गर्नु भएको थियो ।
समूहका सचिव दिलकुमारी सुनारको सञ्चालन रहेको कार्यक्रममा समूहका पूर्व अध्यक्ष कमल पराजुली, पञ्चनगर खानेपानी संस्थाका अध्यक्ष कर्णबहादुर खत्री, चिसानपानी सामुदायिक वनका अध्यक्ष होमबहादुर गुरुङ , समूहका सल्लाहकार बालिन्द्र विक्रम शाही लगायतले आ–आफ्ना भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष बमबहादुर खत्री (दुर्गा)ले अध्यक्षको प्रतिवेदन, सचिव दिलकुमारी सुनारले प्रशासनिक प्रतिवेदन, कोषाध्यक्ष केमप्रसाद थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार समुहको वार्षीक आय १ करोड ४३ लाख ७७ हजार ३ सय १० र खर्च १ करोड ४१ लाख ३ हजार ३ सय ३२ रुपैया रहेको छ भने बचत २ लाख ७३ हजार ९ सय ७७ भएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
कार्यक्रममा लेखा संयोजक शंकरप्रसाद पाण्डेयले लेखा समितिको प्रतिवेदन र अनुगमन समितिको प्रतिवेदन संयोजक रुद्रबहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा समूहले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्षेत्रभित्रका विपन्न तथा जेहेन्दार १८ जना विद्यार्थीहरूलाई पोसाक तथा स्टेसनरी सामग्री वितरण गरेको थियो।
वि।सं। २०५४ मा स्थापना भएको संसारकोट सामुदायिक वनको बर्दघाट नगरपालिका वडा नं ८, ९ र १० र सरावल गाउँपालिका वडा नं ३ र ४ तथा पाल्हीनन्दन गाउँपालिका वडा नं १ कार्यक्षेत्र रहेको श्री संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहमा २ हजार ७ सय ५० घरधुरी आबद्ध रहेका छन ।
