कृष्ण ढकाल
बर्दघाट, मंसिर–९
बर्दघाट उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको नवौं बर्दघाट महोत्सव–२०८३ लाई सफल, व्यवस्थित र प्रभावकारी बनाउन आयोजक संस्थाले बर्दघाट नगरपालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग अन्तरक्रिया तथा छलफल गरेको छ।
महोत्सवको तयारी र सफल सञ्चालनका लागि राजनीतिक दलहरूको सुझाव, सहयोग र समन्वय जुटाउने उद्देश्यले आज आयोजित छलफलमा नगरका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक लेखनाथ न्यौपानेको अध्यक्षता तथा संघका सचिव डिल्ली कंडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका भवानीशंकर पाण्डे, नेपाली कांग्रेसका सुकबहादुर गुरूङ, नेकपा एमालेका शिवप्रसाद कोइराला, नेपाली कम्युनिस्ट पार्टीका तेजेन्द्र पुर्जा, राष्ट्रिय जनमुक्ति पार्टीका शेरबहादुर थापा तथा बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल लगायतको उपस्थिति रहेको थियो।

छलफलका क्रममा सहभागि राजनितिक दलका ब्यीक्तहरूले मेलामा राखिने वस्तु तथा सेवाको गुणस्तर प्रति ध्यान दिनु पर्ने, रातिको समयमा टिकट महंगोमा विक्रि गर्ने कार्यको रोकथाम गर्नु पर्ने, आयोजकले प्रवेशका लागि बाड्ने पासको दुरूपयोग रोक्नु पर्ने,मेलामा खेलाइने जुवा तासको न्युनिकरण गर्नु पर्ने, सुरक्षा ब्यवस्थालाई ब्यवस्थीत र कडाई गर्नु पर्ने जस्ता विषयमा गम्भीर हुन मेला आयोजक संस्था बर्दघाट उद्योग वाणिज्य संघलाई आग्रह गरेका थिए ।
त्यसैगरी मेलाको समुद्घाटन गर्दा नेताहरूबाट गरेर आपसी मनमुटाव गर्नु भन्दा नगरको कुनै जेष्ठ नागरीकबाट गर्दा पनि फरक नपर्ने सुझाव दिएका थिए ।
आयोजकका अनुसार आगामी २०८३ मंसिर १७ गतेदेखि २९ गतेसम्म बर्दघाट मण्डपमा महोत्सव सञ्चालन हुनेछ। महोत्सवमा करिब २ सय वटा स्टल रहने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो। नगर तथा जिल्लाको कृषि, पर्यटन, संस्कृति र औद्योगिक व्यापारको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो।
कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध बर्दघाटको बलियो आधार भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, व्यावसायिक गतिविधिको विस्तार, पर्यटन प्रवद्र्धन तथा कला र संस्कृतिको संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

महोत्सवलाई सबै पक्षको साझा कार्यक्रमका रूपमा सफल बनाउन संघले यसअघि नै संघका सल्लाहकारहरू तथा बजार विकास समितिका अध्यक्ष एवं प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया र छलफल गरिसकेको छ।
कार्यक्रममा संघका उद्योग उपाध्यक्ष टेकबहादुर बुढाथोकी, वाणिज्य उपाध्यक्ष चन्द्र रणपाल, कोषाध्यक्ष इन्द्र चौधरी, सदस्य देवीदत्त सापकोटा लगायतको उपस्थिति रहेको थियो।
आयोजकले महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न राजनीतिक दल, स्थानीय संघसंस्था, व्यवसायी, सञ्चारकर्मी तथा नगरवासी सबैको सहयोग र सहभागिताको अपेक्षा गरेको छ।
