कृष्ण ढकाल
बर्दघाट,मंसिर -५
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको माकर सनराइज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारण सभा शनिबार बर्दघाटमा सम्पन्न भएको छ। सभामा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा ७८ लाख ५५ हजार ६३ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी गराइएको छ।
संस्थाका अध्यक्ष रुक्मांगत ज्ञवालीको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष ज्ञवालीले संस्थालाई नीति, विधि, प्रविधि र सुशासनमा आधारित रहेर सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले यस आर्थिक वर्षमा शेयर सदस्यलाई ५.४५ प्रतिशत बोनस वितरण गर्न संस्था सफल भएको जानकारी दिनुभयो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष हुमनाथ आचार्यले स्वागत मन्तव्य राख्दै सदस्यहरूको हित र शेयर तथा बचतको सुरक्षालाई प्राथमिकतामा राखेर संस्था अघि बढिरहेको बताउनुभयो। संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष पुण्यप्रसाद पौडेल, सल्लाहकारहरू कृष्णबहादुर थापा क्षेत्री, कमला शर्मा, प्रदीप सुवेदी र राजु न्यौपाने लगायतले संस्थाको प्रगति र सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सभामा संस्थाको वार्षिक प्रगति समीक्षा तथा आगामी वर्षको नीति र कार्यक्रमसम्बन्धी प्रतिवेदन सचिव चोलाकान्त भट्टराईले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, कोषाध्यक्ष कमला जिसीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनअनुसार संस्थाको शेयर पुँजी १ करोड ९५ लाख ९० हजार ८ सय रुपैयाँ, जगेडा कोष १ करोड २२ लाख ९५ हजार २ सय रुपैयाँ र कुल पुँजी २९ करोड ९४ लाख ८६ हजार ३ सय ३ रुपैयाँ रहेको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले २ करोड ४२ लाख ९९ हजार ५ सय ७१ रुपैयाँ आम्दानी गरेको छ। सो अवधिमा १ करोड ६४ लाख ४४ हजार ५०७ रुपैयाँ खर्च कटाएर संस्थाले ७८ लाख ५५ हजार ६३ रुपैयाँ खुद नाफा आर्जन गरेको हो। संस्थाको लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समिति सदस्य विनोद कँडेलले प्रस्तुत गर्नुभएको थियो।
साधारण सभाको अवसरमा तीन जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो। साथै, माध्यमिक तह उत्तीर्ण गर्ने शेयर सदस्यका १३ जना छोराछोरीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। सभाको अन्त्यमा लक्की ड्रमार्फत ५३ जना सदस्यलाई उपहार वितरण गरिएको संस्थाले जनाएको छ।
बर्दघाट नगरपालिकालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको यस सहकारीमा ८ सय ३६ महिला र ८ सय २ पुरुष गरी कुल १ हजार ६ सय ३८ जना शेयर सदस्य आबद्ध छन्। त्यस्तै, संस्थामा २ सय २९ जना बाल सदस्य रहेका छन्।
संस्थाले बर्दघाट–४ स्थित केन्द्रीय कार्यालय र बर्दघाट–२ चिसापानीस्थित सेवा केन्द्रमार्फत सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको व्यवस्थापक सागर सापकोटाले जानकारी दिनुभयो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव चोलाकान्त भट्टराईले गर्नुभएको थियो।
