Sarawal notish

प्रादेशिक हाजिरीजवाफ प्रतियोगितामा रामनगर एकेडेमी र आदर्श मावि फाइनल चरणमा प्रवेश

527

कृष्ण ढकाल

बर्दघाट,मंसीर–११

३३ औं प्रादेशिक न्यू होराइजन हाजिरीजवाफ प्रतियोगिता-२०८३ अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट केन्द्रमा आयोजित प्रतिस्पर्धामा रामनगर एकेडेमी, सुनवल-१२ प्रथम भएको छ।

आदर्श माध्यमिक विद्यालय, रामग्राम-५ द्वितीय हुँदै दुवै विद्यालयका टोली प्रदेशस्तरीय फाइनल चरणमा प्रवेश गरेका छन्। विद्यार्थीको ज्ञान, जिज्ञासा, तार्किक क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी टोलीबीच प्रतिस्पर्धा भएको थियो। विभिन्न चरणमा सञ्चालन गरिएको प्रश्नोत्तर प्रतिस्पर्धामा सहभागी विद्यार्थीले आफ्नो बौद्धिक क्षमता र ज्ञान प्रदर्शन गरेका थिए।

प्रतियोगितामा रामनगर एकेडेमीका अरिस अधिकारी, कृषल लामिछाने र शिला भण्डारी सम्मिलित टोलीले प्रथम स्थान हासिल गर्दा आदर्श माध्यमिक विद्यालयका उत्तम केसी, अभिषेक मौर्य र मनीषा शाहीको टोली द्वितीय भएको हो। प्रतियोगितामा जनसेवा माध्यमिक विद्यालय सुनवल ६ तृतीय, कुमुदिनी इ‌ङ्लिस बोर्डिङ स्कुल बर्दघाट-४ चतुर्थ, क्यानल सेन्टर इ‌ङ्लिस बोर्डिङ स्कुल सुस्ता-२ पाँचौं र महाकवि देवकोटा माध्यमिक विद्यालय, सुनवल-४ छैटौं भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले विद्यार्थीको प्रतिभा प्रस्फुटन र शैक्षिक विकासका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । उहाँले पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर रहेर विद्यार्थीलाई खोज, अनुसन्धान र सिर्जनात्मक सोचतर्फ प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट प्याब्सनका अध्यक्ष हरि पौडेल लगयातले विद्यार्थीको क्षमता अभिवृद्धि, शैक्षिक गुणस्तर सुधार र विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिताले महत्वपूर्ण योगदान पुझ्याउने धारणा व्यक्त गर्नुभएको थियो ।

यस वर्षदेखि न्यू होराइजन हाजिरीजवाफ प्रतियोगितामा बर्दघाट केन्द्र थप गरिएको हो। वि.सं. २०५० सालमा जिल्ला स्तरीय प्रतियोगिताका रूपमा सुरु भएको यो शैक्षिक अभियान तीन दशकभन्दा लामो यात्रा पार गर्दै प्रादेशिक स्तरमा विस्तार भएको छ। नयाँ केन्द्र थपिएसँगै बर्दघाट तथा आसपासका क्षेत्रका विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने थप अवसर पाएका छन्।

बर्दघाट केन्द्रका संयोजक रोशन तिवारीका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीमा किताबी ज्ञानसँगै आलोचनात्मक सोच, तार्किक क्षमता, निर्णय क्षमता, आत्मविश्वास र सामूहिक कार्य गर्ने सीप विकास गर्नु हो। हाजिरीजवाफ प्रतियोगिता केवल प्रश्नको सही उत्तर दिने प्रतिस्पर्धा नभई विद्यार्थीको बौद्धिक तथा व्यक्तित्व विकाससँग जोडिएको अभियान भएको उहाँले बताउनुभयो । बर्दघाट केन्द्रबाट छनोट भएका रामनगर एकेडेमी र आदर्श माध्यमिक विद्यालयका टोलीले आगामी मंसिर १९ गते शनिबार बुटवलस्थित न्यू होराइजनमा आयोजना हुने प्रदेशस्तरीय अन्तिम चरणको प्रतियोगितामा अन्य केन्द्रबाट छनोट भएका टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।