रामु भुसाल
बर्दघाट, असोज– २५
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित चिसापानी खानेपानी तथा सरसफाइ मुल उपभोक्ता संस्थाको १६ औँ वार्षिक साधारणसभा आइतबार संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रामप्रसाद सापकोटाको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो। सभामा बोल्दै नगरप्रमुख श्रेष्ठले उपभोक्तालाई शुद्ध खानेपानी पुर्याउन नगरपालिकाको सहकार्यमा पानी परीक्षण भइरहेको जानकारी दिनुभयो। साथै वहाँले नगरभित्रका सबै वडामा स्वच्छ खानेपानी पुर्याउने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो।
सभामा संस्थाका अध्यक्ष रामप्रसाद सापकोटाले वार्षिक प्रतिवेदन तथा सचिव विमल पन्थीले संस्थाको नीति, कार्यक्रम र आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, संस्थाकी कोषाध्यक्ष शान्ति पोख्रेल पौडेलले आर्थिक आय–व्यय विवरण र लेखा समितिका तर्फबाट सदस्य सीता खनालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न उपसमितिका तर्फबाट तारा चन्द, शैक्षिक संस्थाहरूको तर्फबाट माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका प्राचार्य अनिलचन्द्र अधिकारी, सल्लाहकार चन्द्रबहादुर थापा, स्थानीय संघ–संस्थाका तर्फबाट सूर्यज्योति युवा क्लबका अध्यक्ष राम भण्डारी र नगरका खानेपानी संस्थाहरूको तर्फबाट जहदा खानेपानी संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
संस्थाका उपाध्यक्ष कमल बस्यालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव विमल पन्थीले गर्नुभएको थियो।
वि.सं. २०५६ सालमा स्थापना भएको चिसापानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हालसम्म १ हजार ३ सय ५० घरधुरीमा धारा जडान गरी उपभोक्तालाई चौबीसै घण्टा खानेपानी वितरण गर्दै आएको छ।
