Bardaghat notish

दिव्य ज्योति बहुमुखी क्याम्पस,बर्दघाट–२,चिसापानीको नवौँ सभा सम्पन्न

602

बर्दघाट, असोज–२३

दिव्य ज्योति बहुमुखी क्याम्पस,बर्दघाट–२,चिसापानीको नवौँ सभा सम्पन्न भएको छ।  क्याम्पसको सभाहलमा आयोजित सभा व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद पौडेलको अध्यक्षता तथा संघीय सांसद विक्रम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

​सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद खनालले स्थानीय स्तरमै गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्दै यस क्षेत्रको शैक्षिक उन्नयन, दक्ष जनशक्ति निर्माण र सामाजिक रूपान्तरणमा क्याम्पसले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।

क्याम्पसले हासिल गरेका उपलब्धिहरू सम्पूर्ण नगरवासी र जिल्लावासीका लागि गौरवको विषय भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा शैक्षिक, भौतिक तथा संस्थागत विकास र स्तरोन्नतिका लागि सबै पक्ष निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो।

​कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुण्य प्रसाद पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने क्याम्पस प्रमुख दीपक बहादुर खड्काले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो।

​सभामा राष्ट्रिय सभाका पूर्व सदस्य रामलखन हरिजन, बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय, पूर्व नगर प्रमुख धीरज बस्याल, वडा नम्बर २ का वडाध्यक्ष गणेशबहादुर क्षेत्री, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्षद्वय बृहस्पति अधिकारी र रुक्मागत ज्ञवाली, पूर्व क्याम्पस प्रमुख सागरमणि पाण्डे तथा प्राध्यापक प्रतिनिधि शीतल अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

​सञ्चालक समितिका उपाध्यक्ष दया दर्लामीको स्वागत मन्तव्य र पूर्व क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका संयोजक रामकृष्ण पौडेलले नयाँ नेतृत्व चयनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ। संयोजक पौडेलका अनुसार सञ्चालन समितिको नयाँ नेतृत्वका लागि आगामी असोज २७ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ।