कृष्ण ढकाल
बर्दघाट,असोज–२२
वनशक्ति सामुदायिक वन उपभोक्ता समूह,बर्दघाट–१०,अलाहवलको १८औँ वार्षीक साधारण सभा विहिवार सम्पन्न भएको छ । समूहका अध्यक्ष ईन्द्र बहादुर चौधरीको अध्यक्षता र डिभिजन वन कार्यालय नवलपरासीका सिनियर वन डिभिजन अधिकृत धनिश्वर न्यौपानेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।
समूहको कार्यालय परिसरमा आयोजना गरीएको उक्त सभालाई सम्बोधनगर्दै सिनियर वन डिभिजन अधिकृत न्यौपानेले सामुदायिक वनलाई विधिसम्मत ढंगले सञ्चालन गर्दै नमुना वनका रूपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको थियो । सामुदायिक वनका उपभोक्ताले वन पैदावारको उपभोगसँगै वन संरक्षण र हरियाली प्रवर्द्धनमा पनि ध्यान दिनुपर्ने बताउदै वनको संरक्षण तथा विस्तार गर्नुपर्नेधारण राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपरासीका सदस्य धनिराम चौधरीले समूहका गतिविधि, योजना तथा कार्यप्रगतिबारे उपभोक्तालाई नियमित रूपमा पारदर्शी ढंगले जानकारी गराउनुपर्ने बताउनुभयो भने बर्दघाट नगरपालिका–१० का वडाध्यक्ष तथा वन समूहका सल्लाहकार समितिका संयोजक राजु मिश्रले अन्य वन समूहको क्षेत्रमा बिभिन्न धार्मिक संघ संस्थाका नाममा वन अतिक्रमित भएको भएपनि आफ्नो वडाका कुनै पनि वनमा बिभिन्न धार्मिक संघ संस्थाका नाममा वन अतिक्रमण नभएको बताउनु भएको थियो ।
समूहका उपाध्यक्ष फणेन्द्र चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै सामुदायिक वन महासंघकी जिल्ला अध्यक्ष शारदा पोख्रेलले वनको संरक्षण, संवर्द्धन र सदुपयोगमा उपभोक्ताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सामुदायिक वनलाई स्थानीय उपभोक्ताको आर्थिक तथा सामाजिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो।
कार्यक्रममा समूहका संस्थापक अध्यक्ष छविप्रसाद पौडेल, पूर्वअध्यक्ष दिनेश फौजदार, पञ्चनगर खानेपानी संस्थाका अध्यक्ष कर्णबहादुर खत्री, चिसापानी सामुदायिक वनका अध्यक्ष होमबहादुर गुरुङलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो।
वनशक्ति सामुदायिक वन उपभोक्ता समूहकी सचिव कविता कुमारी फौज्दारको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समूहका अध्यक्ष इन्द्रबहादुर चौधरीले समूहको प्रगति प्रतिवेदन,सचिव कविता कुमारी फौज्दारले प्रशासनीक प्रतिवेदन र कोषाध्यक्ष सुजना थापाले २३ लाख ६९ हजार २ सय ५६ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। आन्तरिक लेखा समितिको प्रगति प्रतिवेदन संयोजक रामनरेश चौधरीले प्रस्तुत गर्नुभएको थियो।
२०५५ सालमा स्थापना भएको श्री वनशक्ति सामुदायिक वनमा बर्दघाट नगरपालिका वडा नम्बर १० र ११, सरावल गाउँपालिका वडा नम्बर ३ र ४ तथा पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ का गरी करिब २ हजार ३ सय ८० घरधुरी उपभोक्ता रहेका छन् भने वनशक्ति सामुदायिक वन करिब ४सय ४ दशमलव ३३ हेक्टर क्षेत्रफलमा फैलिएको ५ ।
