Bardaghat notish

भरत क्षेत्रीको नयाँ गीत ‘यसपालिको दशैं तिहार सँगै मान्ने हो’ सार्वजनिक

416

कृष्ण ढकाल

बर्दघाट,असोज–२६

गायक तथा सर्जक भरत क्षेत्रीको नयाँ गीत ‘यसपालिको दशैं तिहार सँगै मान्ने हो’ सार्वजनिक भएको छ। आइतबार भरत क्षेत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत सोमबार बेलुकीसम्म ३ हजार ९ सयभन्दा बढी पटक हेरिएको छ।

दशैं तथा तिहारको उल्लास र पारिवारिक भेटघाटको भाव समेटिएको गीतको छायाङ्कन नवलपरासीको बर्दघाट खानेपानी संस्थाको परिसर, बर्दघाट चुरे उद्यान लगायतका विभिन्न स्थानमा गरिएको छ। चाडपर्वको अवसरमा आफन्त तथा परिवारसँगै रमाइलो गर्ने भावनालाई गीतले प्रस्तुत गरेको छ।

गीतको शब्द, सङ्गीत तथा निर्देशन भरत क्षेत्रीले गरेका हुन् भने जुना कँडेलले लगानी गरेकी छन्। गीतको सह–निर्देशन उपेन्द्र घर्ती मगरले गरेका छन्। बादल श्रेष्ठले छायाङ्कन र अमृत चापागाईंले भिडियो सम्पादन गरेका छन्।

गीतको भिडियोमा भरत क्षेत्री, सुमन खनाल, शिव कोइराला, महेन्द्र रेग्मी, अञ्जीता विश्वकर्मा, सुरज भुषाल, कुमार के.सी. र एकदेव पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ।

दशैं–तिहार नजिकिँदै गर्दा सार्वजनिक भएको यस गीतले चाडपर्वको रौनक, आपसी सद्भाव र मिलनको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।