बर्दघाट, साउन–२७
स्वर्ण पदक विजेता खेलाडी सुष्मा चौधरीलाई बर्दघाट नगरपालिकाले सम्मान गरेको छ ।नगरपालिकाका आयोजित एक कार्यक्रममा बिच नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रमाण पत्र सहित २० हजार राशी सहित सम्मान गरिएको हो । कम्बोडियामा सम्पन्न छैटौं कुन खमेर (Kun Khmer) विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काएकी छन्।
विश्वका विभिन्न देशका खेलाडी सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुष्माले नेपालका लागि स्वर्ण पदक जितेकी हुन्। उनको यो उपलब्धिलाई नेपाली खेलकुदका लागि ऐतिहासिक सफलताका रूपमा हेरिएको छ।सुष्मा बर्दघाट नगरपालिका वडा नम्बर ५ निवासी हुन ।
सुष्मा चौधरी लामो समयदेखि आईटीएफ तेक्वान्दो खेलमा सक्रिय रहँदै आएकी छन्। तेक्वान्दोमा कालो पेटी (Black Belt) प्रथम डान हासिल गरिसकेकी उनले आफ्नो निरन्तरको मेहनत र समर्पणका कारण आज अन्तर्राष्ट्रिय मार्सल आर्ट्सको प्रतिष्ठित प्रतियोगितामा यो ठूलो सफलता चुम्न सफल भएको आईटीएफ तेक्वान्दो संघ लुम्बिनी प्रदेश अध्यक्ष रितमान कामुले बताए ।
सुष्माको जितसँगै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा गौरवका साथ फहरिएको छ। खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनको सफलताप्रति बधाई तथा शुभकामना व्यक्त गरेका छन्।बर्दघाट नगरपालिकाका विभिन्न संघ सस्थाहरुले उनको सम्मानका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छ्न ।
