कृष्ण ढकाल
प्रतापपुर,साउन–२६
कठहवा–बेलाटारी सम्पर्क हुलाकि सडक निर्माणका क्रममा प्रतापपुर गाउँपालिका वडा नम्बर ६ कठहवा क्षेत्रमा जग्गा विवाद सिर्जना भएपछि सडक निर्माण कार्य अलपत्र परेको छ । साविक सडक रहेको जग्गा ब्यक्तिको घडेरी परेको भनि विबाद उत्पन्न भएपछि करिव १ सय ८० मिटर सडक कालोपत्रे हुन सकेको छैन ।
२०८२ असोज ३० गते निर्माण सम्पन्न गर्ने गरी श्री कन्टेक प्रा।लि नक्साल काठमाण्डौले २०७६ कार्तिक २९ गते ठेक्का सम्झौता गरेको थियो । २७ करोड २३ लाख ५ हजार ७ सय ३३ रुपैयाँमा हुलाकी राजमार्ग योजना कार्यालय कपिलबस्तु मार्फत ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको थियो ।
सम्झौता अनुसार सबै निर्माण कार्य सम्पन्न भैसक्दा पनि कठवा क्षेत्रको झण्डै २ सय मिटर सडक कालोपत्रे गर्न स्थानिय मिश्र परिवारले आफ्नो जग्गा दावी गरी कालोपत्रे गर्न नदिएपछि काम अलपत्र परेको हो ।
स्थानियहरु भने अहिले रहेको सडक नै पुरानो बाटो भएकाले यस अघि ३ पटक सम्म कालोपत्रे भैसकेको तर अहिले रोकिए पछि उनीहरु निक्कै आक्रोशीत भएका छन ।
अधिकांश स्थानिय वासी पुरानै सडक कायम हुनुपर्ने माग गर्दै पुराना र वहालवाला प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरु सहित पटक–पटक सरोकारवाला पक्ष संग छलफलमा बसे पनि अहिले सम्म निकास निस्किएको छैन ।
कालोपत्रे हुन बाँकी रहेको हालको सडक पश्चिम तर्फ रविन्द्र प्रसाद मिश्रको जग्गा रहेको छ भने पूर्व तर्फ दिनेश चन्द त्रिपाठी को नामको जग्गा रहेको छ ।
रविन्द्रका बुवा तिर्थराज मिश्र २०१७ साल देखी २०३९ साल सम्म प्रधान पञ्चको रुपमा रहेर काम गरेका थिए । सडकको स्तर उन्नती गर्नका लागि तिर्थराजले नै पहिलो पटक ग्रावेल गरेर सडक स्तर उन्नती कार्यमा सहयोग गरेको स्थानिय स्मरण गर्छन् ।
स्थानियहरु मिश्रले नै यो सडकको विकासका लागि सहयोग गरेकोमा अहिले आएर बर्षौँ देखी चलिआएको सडकमा कालोपत्रे गर्ने कार्यमा अवरोध गर्न नमिल्ने तर्क गर्छन् ।
स्थानिय धिरज त्रिपाठीले सदियौ देखीको बाटो रोक्न नमिल्ने बताउँछन् । उनले सडकको पुर्जा कसरी निस्कियो भन्दै आश्चर्य ब्यक्त गरी छानविनका लागि माग गरेका छन् ।
नक्सामा सडक हालको स्थान देखी पश्चिम तर्फ देखीन्छ । नक्सा अनुसार सडकको पूर्व तर्फ मिश्र परिवारकै केही जग्गा रहेका कारण नक्सा अनुसारको सडक कायम हुनुपर्ने भन्दै कालोपत्रे गर्न रोक लगाएको देवेन्द्र मिश्रको भनाई छ ।
उनी अलालतका कागजपत्र देखाउँदै भन्छन् “ मलाई सडक प्रति कुनै आपत्ति होईन यति मात्र हो की नक्सा अनुसार हुनुप¥यो । यसको लागी अदालतबाटै फैसला भैसकेको छ । ”
