कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१६
बर्दघाट नगरपालिकाको आयोजना र शान्ति निकुञ्ज रेवती गौमाता गौतम मा.बि.को ब्यवस्थापनमा बर्दघाट नगरपालिकास्तरीय अन्तर विद्यालय पाँचौ राष्ट्रपति रनिङशिल प्रतियोगिता २०८१ शुरु भएको छ ।
बर्दघाट– ५ पाल्डाँडामा रहेको शान्ति निकुञ्ज रेवती गौमाता गौतम मा.बि.मा भएको प्रतियोगिताको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले एक कार्यक्रमका विच समुद्घाटन गर्नु भएको छ ।
नगरका २५ विद्यालयहरुले सहभागिता जनाएको उक्त प्रतियोगिताको समुदघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले बर्दघाट नगरका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नगरको पहिचान राख्न सफल भएको स्मरण गर्दै राष्ट्रपति रनिङशिल प्रतियोगिता त्यसको शुरुवाती खेलबन्नेमा आफु विश्वस्त रहेको धारणा राख्नु भएको थियो ।
बर्दघाट खेलकुद विकास समितिका संयोजक तथा शान्ति निकुञ्ज रेवती गौमाता गौतम मा.बि. ब्यवस्थापन समितिका अध्यक्ष दिपक थापाको अध्यक्षता ,प्रद्यानाध्यापक विनोद खनालको स्वागत तथा शिक्षक शिवप्रसाद शर्माको सञ्चालन रहेको कार्यक्रममा वडाध्यक्ष बिमला गुरुङ लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रममा सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ, लगाएत कार्यपालिका सदस्यहरु र बिभिन्न संघ संस्थाका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
१२ वटा सामुदायिक र १३ वटा संस्थागत विद्यालयहरुले सहभागिता जनाएको पाँचौ राष्ट्रपति रनिङशिल प्रतियोगिता २०८१ मा छात्र र छात्रा दुबै तर्फ कवड्डी,भलिवल,टेक्वाण्डो,आइ.टी.एफ. कराँते,उसु,खो खो लगाएतका प्रतियोगिताहरु भैरहेका छन । जहाँ १८ बर्ष मुनिका विद्यार्थीहरुले मात्र भाग लिन पाउने नियम बनाइएको छ ।
त्यसैगरी एथलेटिक्स तर्फ छात्र र छात्रा दुबै तर्फ १ सय, ३ सय र १५ सय मिटरका दौड प्रतियोगिता र रिलेदौड प्रतियोगिताहरु सञ्चालन गरीएको बर्दघाट खेलकुद विकास समितिका संयोजक दिपक थापाले बताउनु भएको छ । थापाका अनुसार अहिले सम्म जिल्लामा नै समावेस नगरीएको खो खो खेललाई बर्दघाट नगरपालिकास्तरीय अन्तर विद्यालय पाँचौ राष्ट्रपति रनिङशिल प्रतियोगिता २०८१ मा पहिलो पटक समावेस गरीएको छ ।
त्यस्तै बर्दघाट नगरपालिकाले तयार गरेको नगरगानलाई समेत सार्वजनीक रुपमा हुने कार्यक्रममा राष्ट्रिय गान पछि अनिवार्यरुपमा नगरगान बजाउनेगरी प्रतियोगिताबाट बजाउन शुरु गरीएको छ ।
७ लाख बजेटको परिधिमा रहेर पाँचौ राष्ट्रपति रनिङशिल प्रतियोगिता २०८१ सम्मपन्न गर्ने गरी शुक्रवार देखि शुरु गरीएको प्रतियोगिता १८ गते आईतवार सम्पन्न हुने छ । जहाँ ५ सय खेलाडीहरुका लागि मेडल वितरण गर्ने तयारी गरीएको आयोजकले जनाएको छ ।
यसैविच पाँचौ राष्ट्रपति रनिङशिल प्रतियोगिता २०८१ को समुद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिकाले जिल्ला खेलकुद विकास समितिलाई रु २ लाख बराबरको खेल म्याट हस्तान्त्रण गरेको छ ।