Bardaghat Na pa

दुई दिने आधारभूत कुष्ठरोग तालिम सम्पन्न

384

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२३

बर्दघाट नगरपालिकाको आयोजना र द–लेप्रोसी मिसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बर्दघाट नगरमा दुई दिने आधारभूत कुष्ठरोग तालिम सम्पन्न भएको छ । बर्दघाट नगरका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुका लागि केन्द्रित रहेर आयोजना गरीएको उक्त तालीममा बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली र द–लेप्रोसी मिसन नेपालका स्वास्थ्य अधिकृत जनक प्रसाद काफ्लेले सहजीकरण गर्नु भएको थियो ।

तालीममा अहिलेको अवस्था,कृष्ठरोगको संभावना र गाउँघरमा उक्त रोगको खोजपताल गर्नका लागि कसरी जाने भन्नेवारेमा जानकारी गराईएको थियो । मानिसहरुको आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने कुष्ठरोग ज्यादै कम सर्ने दिर्घकालीन सरुवा रोग भएपनि त्यसको निवारर्णका सरोकारवालाहरुले अपनाउनु पर्ने सावधानिका सवारेमा समेत तालिममा जानकारी दिने काम भएको द–लेप्रोसी मिसन नेपालका स्वास्थ्य अधिकृत जनक प्रसाद काफ्लेले बताउनु भएको छ ।

उपचार सुरु नगरेका कुष्ठरोगका बिरामीबाट नाक र मुखबाट निस्कने र्‍यालका थोपा तथा छिटाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संभावना रहने र बिशेष गरेर छाला एवं स्नायु साथै स्वासप्रस्वास र आँखामा असर गर्ने भएकाले त्यसतर्फ बेलैमा सचेत हुन बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले आग्रह गर्नु भएको थियो । यदि छाला बाक्लो हुने, गिर्खाहरु देखा देखिने, दाग तथा हात गोडामा छुंदा थाहा नपाउने ,छालामा फुस्रो वा रातो चिन्ह देखा परेमा कुष्ठरोग हो भनेर जान्नु पर्ने ज्ञवालीले बताउनु भएको थियो ।

बर्दघाट नगरपालिकाको सभाहलमा आयोजना गरीएको उक्त तालिममा विशेष गरि कुष्ठरोगको इतिहास लक्षण, प्रकार, उपचार विधि साथै कुष्ठरोग र यसको सामाजिक पक्ष साथै कुष्ठरोगको पहिचान, उपचार र अपांगता व्यवस्थापनमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका बारेमा तालिम प्रदान गरिएको थियो ।