Bardaghat Na pa

एक हप्तामा १ सय २४ जना प्रतिवादी पक्राउ

377

बर्दघाट, भदौ -१९
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एक हप्तामा १ सय २४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । फरार प्रतिवादीलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत परासीमा पेस गरिएको प्रहरीले जानकारी दिनु भयो ।

भदौ ११ गते १७ जना, १२ गते १६ जना, १४ गते २५ जना र १७ गते १८ जना र भदौ १८ गते २० जना गरि १ सय २४ जना फरार प्रतिवादीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनु भयो । “सम्मानित अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले अहिले फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियान नै सञ्चालन गरेको छ ।” बोहराले भन्नुभयो ।

अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी विभिन्न मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरि जिल्ला तथा मातहतका प्रहरी कार्यालयहरूबाट प्रहरी टोली नै बनाइ खटाइएको बोहराले उल्लेख गर्नु भयो ।
पछिल्लो समय पक्राउ पर्नेहरुमा गाली बेइजती, लुटपिट, बाली बिगो, बहु बिबाह, कुटपिट, चेक अनादर, जबर्जस्ती करणी , कर्तव्य ज्यान , जाल साजी, सवारी ज्यान, सवारी अंगभंग, लागु औषध, डाँका चोरी, चेक अनादरलगायतका मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ परेका छन ।

प्रहरीले आर्थिक वर्ष २०८०/०८१ मा समेत फैसला कार्यान्वयन तर्फ ५ सय ९ जना फरार प्रतिबादी पक्राउ गरेको छ । भने १ सय ७९ वर्ष ९ महिना २१ दिन कैद तथा ६६ लाख ५८ हजार ६ सय ५१ जरिवाना असुल भएको नवलपरासी प्रहरीले जनाएको छ ।