Sarawal sit lahar Notis

भूमिहीनलाई जग्गाको मालिक : मन्त्री चौधरी

0 39

सरावल-भदौ –१८

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न सरकार निरन्तर सक्रिय रहेको उहाँले बताउनुभयो । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुलाई जग्गा-धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री चौधरीले पुर्जा वितरणको अभियान चलाउन निर्देशन पनि दिनुभयो ।

सरावल गाउँपालिकाले राष्ट्रिय भूमि आयोग नवलपरासीले तयार गरेको जग्गा धनीपुर्जा सरावल वडा नं. ३ सुकुम्बासी टोलका २५ घरपरिवार भूमिहीनलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिनुभयो । वर्षौंदेखि जोतभोग र बसोबास गर्दै आएपनि पुर्जा पाउन नसकेका भूमिहीन सुकुम्बासी नागरिकले पुर्जा पाउँदा हर्ष व्यक्त गरेका थिए ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष नवेन्द्र खड्काले आयोगले भूमि सम्बन्धि समस्या मुक्त मुलुक बनाउने गरि देशव्यापी रुपमा जग्गा धनीपुर्जा वितरणको अभियान चलाएको बताउनुभयो ।

पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलले जसको जोतभोग उसैलाई पुर्जा वितरण हुनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले नेपालमा अबको दिनमा आयोग नै गठन गर्न नपर्ने गरि काम गर्न आग्रह गर्नुभयो ।

एक वर्ष गठन भएको आयोगले यो वर्ष भित्र जिल्लामा रहेको भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने गरि प्राथमिकता दिएको राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष भण्डारीले बताउनुभयो । आयोगमा प्राप्त पूराना अधुरो कामको निवेदन मध्य ९० प्रतिशत अर्थात दुई हजार २१५ जनाको काम सम्पन्न भई लाभान्वित भएको उहाँले उल्लेख गर्नुभयो । नयाँ पुर्जाको लागि पनि सातै पालिकामा लगत संकलन भईरहेको आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.