कृष्ण ढकाल
बर्दघाट,बैशाख–१८
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपरासी (फेकोफन)को अध्यक्षमा सारदा पोख्रेल सर्बसम्वत रुपमा चयन हुने भएको छ । आज सुनवलमा भएको महासंघको
दोस्रो अधिवेशनले पोख्रेललाई अध्यक्षमा चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा दिलकराज डुम्रे,सचिवमा लालबाबु पंजीयार र कोषाध्यक्षमा सुमित्रा भट्टराईलाई चयन गरेको निर्वाचन मंडलका संयोजक गिता देवि चौधरीले बताउनु भएको छ । त्यसैगरी सदस्यहरुमा टिचन गुरुङ्ग, लिलाधर पाण्डेय,माया अर्याल,श्रीदेवि नेपाल र होम बहादुर सुनार रहनु भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपरासीका अध्यक्ष कमल परियारको अध्यक्षता र केन्द्रिय सदस्य गिता देवि चौधरीको प्रमुख आतिथ्यतामा भएको जिल्ला महासंघको दोस्रो अधिवेशनमा बोल्दै केन्द्रिय सदस्य चौधरीले अहिले वैज्ञानिक वन महासंघका साथीहरु सामुदायिक वन उपभोक्ता महासंघसंग टाढाँहुनुको कुनै अर्थ नरहेको बताउनु भएको थियो । एक आपसमा दाजुभाई र दिदिबहिनीको सम्वन्धलाई विना कारण फरक आखाँले हेर्नु गतल भएको बताउनु भएको थियो ।
त्यसैगरी प्रदेश महासंघका सदस्य नारायण पाण्डेयले एउटै क्षेत्रमा कामगर्ने २ वटा समानन्तर संस्था रहन नहुने भएकाले समस्याको समाधानका लागि पहल गर्न जरुरी रहेको बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै पत्रकार कुस्माकर ढकालले सामुदायिक वनसंग जोडीएका ब्यक्तिहरुको ब्यक्तित्व र नेतृत्व शैलीमा परिपक्ता आउने गरेको बताउदै समाज प्रति अलिबढी जवाफदेहि भएर कार्य गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।
अर्का सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सुनवल नगरका अध्यक्ष कर्ण बहादुर सेनले वन महासंघको सफल नेतृत्वको कामना गर्नु भएको थियो भने जिल्ला अध्यक्ष कमल परियारले
नवलपरासी जिल्लामा ६६ वटा सामुदायिक वनहरु सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला नवलपरासीमा सदस्य रहेको बताउनु भएको थियो । २०५२ सालमा स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखाको २०७५ साद देखि आफुले नेतृत्व सम्हाल्दै आएको अध्यक्ष परियारले जानकारी गराउनु भएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा उपाध्यक्ष दिलीप चापागाईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन सचिव सारदा पोखरेलले गर्नु भएको थियो ।