Jilla Ban Notis

नागरिकता अध्यादेशको विषयमा सर्वोच्चको फैसला गैरसंवैधानिक – पूर्वमन्त्री त्रिपाठी

0 55

परासी, १९ भदौ
स्वतन्त्र राजनीतिक समूहका राष्ट्रिय संयोजक एवं प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नागरिकता अध्यादेशको विषयमा सर्वोच्च अदालतले गैरसंवैधानिक फैसला गरेको बताउनुभएको छ । संविधानमै उल्लेखित व्यवस्था भन्दा बाहिर गएर अदालतले फैसला गरेको उहाँको दाबी थियो ।
स्वतन्त्र राजनीतिक समूहले आज पश्चिम नवलपरासीको बेलाटारीमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री त्रिपाठीले आफू ओलि सरकारमा रहँदा नागरिकताको समस्या समाधानका लागि पहल गरेको तर सर्वोच्चले लगाम लगाएको जिकिर गर्नुभयो ।
संविधानमा जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको आधारमा नागरिकता पाउने उल्लेख गरेको र अध्यादेशमा पनि सोही विषय रहेकोमा अदालतले रोकेर गैरसंवैधानिक फैसला गरेको बताउनुभयो ।


नेता त्रिपाठीले दल विभाजन र दलहरुबीचको तिक्ततापूर्ण सम्बन्धले संविधान नै समाप्त हुने खतरा बढेको बताउनुभयो । उहाँले असोज पहिलो साता आफ्नो नेतृत्वमा नयाँ दल दर्ता हुने जानकारी दिनुभयो । कांग्रेसले आफ्नो महाधिवेशन पछि संसद विघटन गर्ने उहाँको दाबी थियोे ।

वैशाख जेठमा तीनै तहको निर्वाचन हुने भएकोले निर्वाचनको तयारीमा लाग्न उहाँले कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । पालिकामा करोडौं रुपैयाँ फ्रिज भईरहेको भन्दै उहाँले त्यसतर्फ खबरदारी गर्न पनि जोड दिनुभयो ।
उक्त समूहका क्षेत्रीय संयोजक रामपृत यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समूहका जिल्ला संयोजक राधेरमण पाण्डे, नगेन्द्र बढइ,प्रेमचन्द्र गुप्ता, रामवतार कोईरी लगायतले बोल्नुभएको थियोे ।

Leave A Reply

Your email address will not be published.