२१,जेष्ठ
प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् ।
उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ । अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका छन् ।
त्यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका ओली निकट स्रोतले जानकारी दिएको छ ।
त्यस्तै जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्नेछन् ।
महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई वन तथा वातावरण मन्त्रालय परेको छ ।
यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए । जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् । @ अनलाईन खवर