Bardaghat Na pa

विप्लवका दाजु विरजंग धरौटीमा छुटे

38

हरि शर्मा
परासी,बैशाख–१८
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द विरजंग शुक्रबार पश्चिम नवलपरासी जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् ।
नवलपरासीको बर्दघाटस्थित धनेवामा रहेको एनसेल टावरमा बम विष्फोट गरेको आरोपमा उनलाई रुपन्देहीबाट २०७७ असोज २१ गते नवलपरासी ल्याइएको थियो । त्यतिबेला अदालतले उनलाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

धरौटी नबुझाएपछि उनी कारागार चलान भएका थिए । पछि स्वास्थ्यमा समस्या आएपछि चन्द्रबहादुरलाई असोज २८ गते चितवन अस्पताल पठाइएको थियो । उनी त्यहीको कारागार थिए । चितवनबाट शुक्रबार नवलपरासी ल्याइएका उनले २५ हजार धरौटी बुझाएपछि अदालतले छाडेको हो ।

पहिलो पटक उनी २०७६ असोज ३० मा विप्लवका २१ जना नेता तथा कार्यकर्तासहित दाङबाट पक्राउ परेका थिए । त्यसबेला उनी विप्लव समुहको मध्यपश्चिम कमाण्डका इन्चार्ज थिए ।

कपिलवस्तु शिवराज नगरपालिका–९ शिवपुरगढी घर भएका चन्द्रबहादुर विप्लवका सहोदर जेठा दाजु हुन् । अहिलेसम्म विभिन्न ८ जिल्लामा अड्डा सारगर्दै कारागार पठाइएको चन्द्रबहादुरले बताए ।

यसैबीच रिहा भएपछि पत्रकारहरुसँग प्रतिकृया दिदैं चन्द्रबहादुरले पार्टीसँग भएको ३ बुँदे सहमति सरकारले कार्यान्वन नगरेको गुनासो गरे । ‘राजनीति निकासका लागि सहमति आवश्यक थियो तर अहिलेसम्म पनि मुद्दा फिर्ता र कार्यकर्ताहरुलाई नछाडेकाले सरकारले अपेक्षाकृत काम नगरेको अनुभुति भएको छ । ’ चन्द्रबहादुरले भने । सहमति कार्यान्वयन नभए देश फेरि अनेपेक्षित ढंगले अघि बढ्न सक्ने उनको भनाई थियो ।