Holi asnjal makar GURU

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै बदर गर्न माग

24

परासी, १७ चैत
भूमाफियाको नाममा सार्वजनिक जग्गा दर्ता गरिएको भन्दै पश्चिम नवलपरासीको सुनवल–६ विशासयका स्थानीय नागरिकले विरोध जनाएका छन् । उनीहरुले उक्त जग्गाको तत्काल छानविन गरी दर्ता बदर गर्न माग गरेका छन् ।

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै स्थानीय ११३ जना नागरिकले संयुक्त हस्ताक्षर गरी छानविन गरी कारवाहीको माग गर्दै भूमि सम्बन्धि समस्या समाधान आयोगको जिल्ला कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् भने जिल्ला प्रशासन कार्यालय र सुनवल नगरपालिकालाई पनि बोदार्थ दिईएकोे छ ।

मनशोभा पाण्डे नेतृत्वको तत्कालिन सुकुम्बासी समस्या समाधान आयोगले दश वर्ष अगाडि विशासयको सिसौघारी बाँधसहित बाँधको दायाँबाँयाको सार्वजनिक जग्गा, बाटो, कुलो, समेत जोगभोगकोआधारमा भनी नक्साभित्र पारी वरपिपल,स्वामी, चौतारी, कुलो लगायत सार्वजनिक स्थल व्यक्तिको नाममा दर्ता गरेको पाईएकोले बदर गर्न माग गरिएको स्थानीय नारायण अर्यालले बताउनुभयो ।

खेतीयोग्य जमिन नै नरहेको उक्त सार्वजनिक स्थल, चौतारी, कुलो तथा जंगल समेत व्यक्तिको नाममा दर्ता भएको अर्यालको दाबी छ । उक्त कुलोबाट स्थानीय १५० विघामा सिँचाई हुँदै आएको छ । सार्वजनिक स्थल कब्जा गर्नेलाई तत्काल कारवाही गरी सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने स्थानीयको माग छ । त्यहाँको १४ कठ्ठा भन्दा बढी सार्वजनिक जग्गा दर्ता भएको स्थानीय बताउँछन् ।

ज्ञापन पत्र बुझ्दै आयोगकी जिल्ला अध्यक्ष विमला अर्यालले स्थानीयवासीको माग बमोजिम उक्त जग्गाको छानविन गर्न समिति गठन गरिएको बताउनुभयो । छानविनबाट सार्वजनिक जग्गा दर्ता भएको ठहर भए दर्ता बदर हुने उहाँले बताउनुभयो ।