Bardaghat notish

नेपाल सुन्नी मुस्लिम राष्ट्रिय डेभ्लपमेन्ट एण्ड वेलफेयर सोसाईटीको बार्षिक साधारण सभा सम्पन्न

198

परासी, १५ पुष

नेपाल सुन्नी मुस्लिम राष्ट्रिय डेभ्लपमेन्ट एण्ड वेलफेयर सोसाईटी जिल्ला कार्यसमिति नवलपरासीको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोसाईटीका जिल्ला अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको अध्यक्षता तथा मौलाना मुफ्ती मोहम्मद रजाको प्रमुख आतिथ्यतामा सो सभा मदरसा जामिया फैजाने अहलेबैत परासीमा सम्पन्न भएको हो । सभामा सोसाईटीका अध्यक्ष हुसैन मिँयाले बार्षिक प्रगति प्रतिवेदन र उपाध्यक्ष मौलाना सिद्दिक मिस्बाहीले लेखा प्रतिवदेन प्रस्तु गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मौलाना मुफ्ती मोहम्मद रजा नेपालको प्रदेश नं. २ जनकपुर बासी हुनुहुन्छ ।

सभामा प्रमुख अतिथि मौलाना मुफ्ती मोहम्मद रजाले मुस्लिम समुदायको हक–अधिकार सुनिश्चित गराउन अझै मुस्लिम समुदायले संघर्ष गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । उहाँले मुस्लिम धर्मावलम्बीहरुलाई जनसमुदायमा ईस्लामको सन्देश र यसको महत्व तथा उद्देश्य उजागर गर्न आग्रह गर्नु भयो । मुफ्ती रजाले जिल्लाका मुस्लिम समुदायहरुलाई नेपाल देशको देशभक्ति मुटुमा राखी देशमा अमनचयनका लागि आ–आफनो ठाउँबाट उदारणिय भुमिका खेल्न आग्रह गर्नु भयो ।

सभा सम्बोधन गर्दै मुफ्ती रजाले मुस्लिम समुदायहरुलाई पनि देशका असल राजनितिक दलहरु संग आवद्ध भएर देशमा शान्ती कायम गराउन र आफनो अधिकार स्थापित गराउन क्रियाशिल भएर लाग्न आग्रह गर्नु भयो । उहाँले मुस्लिम समुदायहरु विभिन्न पार्टी तथा समुहको नाममा विभाजन नभई बरु राष्टियताको सवालमा र सामुदायिक अधिकार स्थापितको सबालमा एकजुट भएर प्रस्तुत हुन सुझाव दिनु भयो ।

ईस्लाम धर्मको धार्मिक तथा सामाजिक सन्देशलाई समुदायमा फैलाउदै समुदायमा देखिएका विभिन्न विकृतिलाई जडैबाट उखालेर फाल्ने र एक आपसमा सामाजिक सदभाव कायम गरि अगाडी बढन मुफ्ती रजाले सबैमा आग्रह गर्नु भयो ।

यस सोसाईटीले मुस्लिम समुदायको हक–अधिकार स्थापित गराउन, समुदायमा जनचेतना जगाउन, सामाजिक सदभाव कायम गराउन, सामाजिक तथा सामुदायिक विकृति हटाई भाइचारा कायम गराउन र देशमा अमनचयन कायमका लागि क्रियाशिल भुमिका निर्वाह गर्ने उद्देश्यले गठन भएको सोसाईटीका जिल्ला अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भयो । यो सोसाईटी विस्तारै सबै जिल्लाहरुमा विस्तार हुदै जाने छ । यस सोसाईटीले छिटै प्रदेश लेबलमा पनि बैठक र तालिम एवं वर्कशपको आयोजना गर्ने जनाएको छ । यता जिल्ला समिति पनि केहिदिनभित्रै विस्तार हुने बताइएको छ ।

जिल्लाका ७ वटै पालिकामा सोसाईटीका संयोजक र उप संयोजक चयन

त्यसैबिच भेलामा सामुदायिक स्तरमा काम गर्न सोसाईटीलाई तहगत विस्तार पनि गर्दै जिल्लाका ७ वटै पालिकामा सोसाईटीका संयोजक र उप संयोजक चयन गरिएको छ । भेलामा रामग्राम नगरपालिकामा सोसाईटीका संयोजकमा मौलाना मोहरम अलि निजामी र उप संयोजकमा मौलाना अलाउद्दिन अंसारीलाइ सर्वसम्मत रुपले चयन गरिएको छ भने सुनवल नगरपालिकाका लागि मौलाना सफिउल्लाह अंसारी र उप संयोजकमा मौलाना सम्साद नुरीलाई चयन गरिएको छ ।

त्यस्तै बर्दघाट नगरपालिकाका लागि संयोजकमा मौलाना रहिमुद्धिन अंसारी र उप संयोजकका लागि मौलाना अख्तर अली कादरीलाई चयन गरिएको छ भने पाल्हीनन्दन गाउँपालिकाका लागि संयोजकमा मौलाना ताजुद्दिन अंसारी र उप संयोजकमा मौलाना हसन अलिमीलाई चयन गरिएको छ ।

त्यस्तै सरावल गाउँपालिकामा सोसाइटीका संयोजकका लागि मौलाना अमानुल्लाह अंसारी र उप संयोजकमा मौलाना सेराज अंसारीलाई राखिएको छ । यता प्रतापपुर गाउँपालिकाका लागि संयोजक पदमा हाफिज अलिहुसैन अंसारी र उप संयोजकका लागि हाफिज मोहम्मद याकुब अंसारीलाई चयन गरिएको छ भने सुस्ता गापामा संयोजकका लागि मौलाना जहिरुद्धिन कादरी र उप संयोजकका लागि हाफिज तसौउर कादरीलाई चयन गरिएको जिल्ला अध्यक्ष हुसैन मिँयाले जानकारी दिनु भयो ।

जिल्लाको ७ वटै पालिकामा सोसाइटीका संयोजक तथा उप संयोजकमा चयन भएका संयोजक तथा उपसंयोजकहरुलाई यस सासाईटीको कामकर्तब्य र उद्देश्य बारे आवश्यक तालिम गोष्ठीहरुको आयोजना गरिने सोसाईटीका उपाध्यक्ष मौलाना सिद्दिक मिस्बाहीले जानकारी दिनु भयो ।

सभाका अध्यक्ष मौलाना हाजी सैयद गुलाम हुसैन मिाया, सभाका प्रमुख अतिथि मौलाना मुफ्ती मोहम्मद रजा मिस्बाही, विशिष्ट अतिथि मौलाना ग्यासुद्धिन खान कादरी, अतिथि मौलाना ईल्यास खान कादरी र सोसाईटीका जिल्ला उस सभापति मौलाना सिद्दिक अलि मिस्बाहीले चयन भएका संयोजक तथा उप संयोजकहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।