विकास अधिकारी
बर्दघाट,भदौं–१४
नेकपा एमाले निकट उखु उत्पादक किसान सङ्घ पश्चिम नवलपरासीले उखु कृषकलाई उपलब्ध गराउँदै आएको अनुदान रकम यथावत कायम गरि तत्कालै गत वर्षको अनुदान रकम निकासा गर्न माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र पठाउदै सङ्घले बजेट अभाव देखाएर अनुदान रकम कटौती गर्ने विषय न्यायसङ्गत नदेखिएको जनाएको छ । उखु खेतीमा अनुदानको व्यवस्था भएपछि उत्पादन वृद्धि भएकाले चिनी र चिनीजन्य पर्दाथको बिक्रीबाट सरकारले तिन अर्ब बढि राजश्व रकम वार्षिक प्राप्त गर्ने भएकाले त्यसको करिब आधा रकमले अनुदान वितरण गर्न पुग्ने सङ्घको भनाई रहेको छ ।
भुक्तानी नपाउँदा किसानलाई मलखाद, बीउबिजन खरिद तथा ऋण तिर्न समस्या भएको भन्दै सङ्घले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अखिल नेपाल किसान महासङ्घ स्थाई कमिटी सदस्य राजन कुमार आचार्यले बताउनु भयो । यस्तै, सङ्घले आगामी वर्षको आधार मूल्य समयमै घोषणा गर्न, किसानलाई दिनुपर्ने अनुदान रकम तुरुन्त वितरण गर्न र उद्योगीबाट किसानलाई ठगिने वातावरण रोक्ने व्यवस्था मिलाउन माग गरेको छ । एमाले जिल्ला कमिटी अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले केन्द्रमा चल्दै आएको किसानहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै जिल्ला बाट समेत थप दबाब सृजना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताउनुभयो । उखु किसानहरू विगत छ दिन देखि काठमान्डौ केन्द्रित आन्दोलन गरिरहेका छन ।
