Bardaghat notish

चाडपर्व लक्षित गर्दै बर्दघाटमा ३० वटा सडकबत्ती जडान

527

कृष्ण ढकाल
बर्दघाट, असोज–१८
आउँदै गरेको दशैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै बर्दघाट बजार विकास समितिले बजार क्षेत्रमा सडकबत्ती जडान गरेको छ। बर्दघाट नगरपालिकाको सहयोगमा बजारका विभिन्न स्थानमा ३० वटा सडकबत्ती जडान गरिएको हो।

बर्दघाट बजार विकास समितिका अध्यक्ष गोविन्द पाध्यायका अनुसार ग्रीनपार्कको मुख्य बजार क्षेत्र, बाढीपीडित जाने चोकदेखि उत्तरतर्फ हाइवे क्षेत्र, बजार नजिकको पार्किङ क्षेत्रदेखि पश्चिमतर्फ पुरानो चौकी हुँदै दक्षिण मोहनी हल चोकसम्म र मोहनी हल चोकदेखि पूर्व राधाकृष्ण मन्दिरसम्म तथा ग्रीनपार्कको भित्री बजार क्षेत्रमा सडकबत्ती जडान गरिएको छ।

चाडपर्वका समयमा बजार क्षेत्रमा हुने चहलपहललाई मध्यनजर गर्दै सडकबत्ती जडान गरिएको अध्यक्ष पाध्यायले बताउनुभयो। सडकबत्तीको विद्युत् महसुल नगरपालिकाले व्यहोर्ने सहमति भएको छ भने बत्ती जडान लगायतका अन्य सम्पूर्ण खर्च बर्दघाट बजार विकास समितिले व्यहोरेको उहाँले जानकारी दिनुभयो।

बजार क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यवसायी तथा सर्वसाधारणको सुरक्षालाई थप प्रभावकारी बनाउन वडा कार्यालय वा नगरपालिकासँग सहकार्य गरी सीसी क्यामेरा जडानका लागि समेत छिट्टै पहल गरिने अध्यक्ष पाध्यायले बताउनुभयो।

बजारका अन्य क्षेत्रबाट समेत सडकबत्ती जडानका लागि माग आएको भन्दै उहाँले आवश्यक आर्थिक स्रोतको व्यवस्था भएमा बर्दघाट नगरपालिका वडा नं. ४ का थप आवश्यक स्थानमा पनि सडकबत्ती जडान गरिने जानकारी दिनुभयो।

सडकबत्ती जडानसँगै चाडपर्वका समयमा बजार क्षेत्रको सुरक्षा, आवतजावत तथा व्यापारिक गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ।