कृष्ण ढकाल
बर्दघाट, असोज–१८
सबैको बहुउद्धेश्यीय सहकारी संस्था लि.,बर्दघाट–४ को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाको समुद्घाटन सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका सल्लाहकार सागरमणी पाण्डेले संस्थालाई छोटो समयमा फाइदामा लानका लागि अहोरात्र खट्ने कर्मचारी र सञ्चालकहरुप्रति धन्यवाद दिदै शेयर सदस्यहरुको बचत रकमलाई सुक्षित गर्ने र अरु सदस्यहरु थप्ने कार्यमा लाग्न सुझाव दिनु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार कृष्णवन्धु पौडेलले सहकारीको दिगो विकासका लागि सदस्यको विश्वास कायम राख्दै पारदर्शिता, सुशासन र जिम्मेवार वित्तीय व्यवस्थापन हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो । त्यसैगरी बर्दघाट प्रेस क्लबका अध्यक्ष एवं पत्रकार कुस्माकर ढकालले बौद्धिक तथा प्राज्ञ क्षेत्रका ब्यक्तिहरु सञ्चालन समितिमा रहेकाले संस्थाको सेवा तथा कार्य सम्पादन गुणस्तरीय रहेको बताउनु भएको थियो । उहाँले संस्था सञ्चालनको चौथो बर्षबाट भएपनि संस्थाको आफ्नो जगेडाकोषमा रकम जम्मागर्न शुरुगरेको पाइएकाले संस्था कमजोर नहुनेमा आफु विश्वस्त रहेको धारणा राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष राजु पौडेलको अध्यक्षता र सल्लाहकार सागरमण्ी पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिक साधारण सभामा संस्थाका असल ऋणी,उत्कृष्ट शेयर सदस्य,उत्कृष्ट बचत कर्तालाई सम्मान गरीएको थियो ।
संस्थाका उपाध्यक्ष दिपक खड्काको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष राजु पौडेलले संस्थाको प्रगति प्रतिवेदन तथा आगामि बर्षको कार्ययोजना पेश गर्नु भएको थियो भने सचिव गणेश अधिकारीले संस्थाले सम्पादन गरेका प्रशासनिक कार्यअवस्था र ब्यवस्थासँगै संस्थागत योजना समेत प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरी संस्थाकी कोषध्यक्ष रमा आलेले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोषध्यक्ष आलेले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार संस्थाको शेयर पुंजी ५६ लाख ४२ हजार ९ सय रहेको छ भने संस्थाको बचत संकलन १ करोड ६१ लाख ९७ हजार छ सय १८ रुपैया रहेको छ । त्यस्तै संस्थाको ऋण लगानी तर्फ २ करोड ५३ लाख ५४ हजार ३ सय ३ रुपैया रहेको जनाइएको छ ।
३ करोड ३० लाख ३७ हजार ९ सय ३९ रुपैया कुल सम्पत्ति तथा जायजेथा रहेको सबैको बहुउद्धेश्यीय सहकारी संस्था लि.ले यो बर्ष आफ्नो जगेडा कोषमा ७ हजार ३ सय १ रुपैया जम्मा गरेर संस्थालाई मजबुत गर्न शुरु गरेको संस्थाले प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
२०७९ साल चैत्र महिनामा ३१ जना शेयर सदस्यहरुबाट संस्था शुभारम्भ गरेको यस संस्थाले अहिले ४ बर्षको हुदा ६ सय ६८ जना शेयर सदस्यहरु बनाउको छ । बर्दघाट नगरपालिका र सुनवल नगपालीका सँगै प्रतापपुर गाउँपालिकालाई आफ्नो कार्यक्ष्ँेत्र बनाएको यस संस्थाले बर्दघाट वडा नं. १३ मा माछापालन समेत गर्दै आएको छ ।
