Bardaghat notish

देउवा समूहले पश्चिम नवलपरासीमा जिल्ला संयोजक तोक्याे

511

असाेज–१६

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिने क्रममा शेरबहादुर देउवा समूहले पश्चिम नवलपरासीमा जिल्ला संयोजक तोकेको छ । समूहले जिल्लाको संयोजकमा धर्मदत्त चापागाईंलाई जिम्मेवारी दिएको हो ।

कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका केन्द्रीय संयोजक डा. शशांक कोइरालाले नवलपरासी जिल्लामा महाधिवेशनसम्बन्धी गतिविधि अघि बढाउन चापागाईंलाई जिल्ला संयोजकमा मनोनयन गर्नुभएको हो ।

पार्टीका केन्द्रीय प्रतिनिधि विकास घिमिरेको अध्यक्षता तथा ट्रेड युनियन कांग्रेसका केन्द्रीय सल्लाहकार अयोध्या यादवको विशेष उपस्थितिमा बसेको समूहको बैठकले सुनवल निवासी चापागाईंलाई जिल्ला संयोजकका लागि सिफारिस गरेको थियो ।

ट्रेड युनियन आन्दोलनमा लामो समयदेखि सक्रिय चापागाईं नेपाल निर्माण सम्बद्ध श्रमिक संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै हाल दोस्रो कार्यकाल केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

यसैगरी देउवा समूहले पश्चिम नवलपरासीका दुवै संघीय निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । केन्द्रीय प्रतिनिधि घिमिरेका अनुसार क्षेत्र नं. १ को संयोजकमा राजुप्रसाद अधिकारी र क्षेत्र नं. २ को संयोजकमा इन्जिनियर विक्रम रानालाई जिम्मेवारी दिइएको छ ।

प्रतापपुर–६ निवासी अधिकारी कांग्रेसको १४औँ महाधिवेशनबाट पालिका उपसभापतिमा निर्वाचित हुनुभएको थियो । त्यस्तै, सुनवल–७ निवासी राना विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ ।

 

देउवा समूहले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिकाअनुसार पश्चिम नवलपरासीमा वडा अधिवेशनको उद्घाटन समारोह भोलि आयोजना गरिनेछ । आगामी १८ गते जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको जनाइएको छ ।

जिल्ला तथा क्षेत्रीय संयोजक तोकिएसँगै देउवा समूहले महाधिवेशनको तयारी र संगठनात्मक गतिविधिलाई अघि बढाउने जनाएको छ । वडा अधिवेशनबाट सुरु हुने समानान्तर महाधिवेशन प्रक्रियाले जिल्लामा कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि थप रोचक बनाउने देखिएको छ ।