Bardaghat notish

काे हुन विक्रम पौडेल ?

विक्रम पौडेल ः अध्ययनदेखि राजनीतिक नेतृत्वसम्मको यात्रा

825

नाम ः विक्रम पौडेल
जन्म ः २०४८ कार्तिक २१ गते
आमा ः माया देवि पौडेल (निर्वतमान उपप्रमुख ः बर्दघाट नगरपालिका )
बुवा ः टीकाराम पौडेल
स्थायी ठेगाना ः बर्दघाट नगरपालिका–१३, लेबडा, नवलपरासी (पश्चिम)
हालको राजनीतिक जिम्मेवारी ः राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेश सहमहामन्त्री तथा संगठन विभाग प्रमुख

विक्रम पौडेल पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३, लेबडामा जन्मिएका युवा राजनीतिकर्मी, इन्जिनियर तथा सामाजिक अभियन्ता हुन्। अध्ययन, संगठन निर्माण, सामाजिक सेवा र राजनीतिक सक्रियतालाई समानान्तर रूपमा अघि बढाउँदै आएका पौडेलले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको सहमहामन्त्री तथा संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै राजनीतिक नेतृत्वमा आफ्नो सक्रिय भूमिका स्थापित गरेका छन्।

छात्रवृत्तिबाट सुरु भएको शैक्षिक यात्रा

पौडेलको शैक्षिक यात्रा प्रारम्भदेखि नै उत्कृष्ट र संघर्षशील रह्यो। उनले कक्षा ५ सम्म बुद्धमंगल इङ्लिश बोर्डिङ स्कूलमा छात्रवृत्तिमा अध्ययन गरे। त्यसपछि बर्दघाट–४ स्थित एक्स आर्मी इङ्लिश बोर्डिङ स्कूलमा कक्षा ५ देखि १० सम्म पूर्ण छात्रवृत्तिमा अध्ययन गर्दै कक्षामा प्रथम स्थान हासिल गरे। विद्यालय तहमा उनले कक्षा कप्तान तथा हाउस कप्तानको जिम्मेवारीसमेत सम्हाले।
कक्षा ११ र १२ को अध्ययन उनले दिब्यज्योति बहुमुखी क्याम्पस, बर्दघाट–२, चिसापानीबाट पूरा गरे। त्यसपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (क्ष्इभ्) पश्चिमाञ्चल क्याम्पसबाट ज्योम्याटिक्स इन्जिनियरिङमा स्नातक तह पूरा गरे। उनले उक्त अध्ययन पनि पूर्ण छात्रवृत्तिमा गर्दै प्रथम श्रेणी हासिल गरेका हुन्।
इन्जिनियरिङ शिक्षापछि उनले लुम्बिनी इन्जिनियरिङ कलेज, भलवारीमा एम.एस्सी. निर्माण व्यवस्थापनमा अध्यनरत छन। प्राविधिक ज्ञान र व्यवस्थापकीय दक्षतालाई व्यवहारमा प्रयोग गर्दै उनी अहिले भू–उपयोग वर्गीकरण तथा विज्ञानसम्बन्धी क्षेत्रमा समेत विशेषज्ञका रूपमा सक्रिय छन्।

विद्यार्थी जीवनदेखि नै संगठन र नेतृत्व

पौडेलको नेतृत्व क्षमता विद्यार्थी जीवनबाटै विकास भएको देखिन्छ। पश्चिमाञ्चल क्याम्पस, पोखरामा अध्ययनका क्रममा उनले गैरराजनीतिक विद्यार्थी गतिविधिमा सक्रिय सहभागिता जनाए। नवलपरासी इन्जिनियरिङ विद्यार्थी समाजको अध्यक्ष भएर विद्यार्थीका शैक्षिक तथा सामाजिक सवालमा काम गरे।
त्यसै क्रममा उनले हेप्पी क्लब अफ पश्चिमाञ्चल क्याम्पसका संस्थापक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका छन्। विद्यार्थी जीवनमै संगठन निर्माण, नेतृत्व विकास र सामाजिक गतिविधिमा सक्रिय हुनुले उनको आगामी राजनीतिक यात्राका लागि आधार तयार गरेको देखिन्छ।

एमालेबाट राजनीतिक यात्राको सुरुआत

पौडेलको राजनीतिक यात्रा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट अघि बढेको हो। उनले एमालेको राष्ट्रिय युवा संघ, नवलपरासी निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय संयोजकको जिम्मेवारी सम्हाले। युवालाई संगठनमा जोड्ने, युवा सहभागिता बढाउने र स्थानीय तहमा संगठन विस्तार गर्ने कार्यमा उनले सक्रिय भूमिका निर्वाह गरे।
राजनीतिक संगठनमा निरन्तर सक्रिय हुँदै उनी नेकपा एमाले नवलपरासी जिल्ला कार्यालय सदस्य बने। त्यसपछि लुम्बिनी प्रदेश सचिवालय सदस्यको जिम्मेवारीसमेत सम्हाल्दै प्रदेश तहको राजनीतिक संगठनमा काम गर्ने अवसर पाए। यस अवधिमा उनले संगठन सञ्चालन, कार्यकर्ता व्यवस्थापन, राजनीतिक प्रशिक्षण र संगठन विस्तारको अनुभव हासिल गरे।

प्राविधिक क्षेत्रसँगै सामाजिक नेतृत्व

राजनीतिक गतिविधिसँगै पौडेलले आफ्नो पेशागत तथा सामाजिक भूमिकालाई पनि निरन्तरता दिएका छन्। उनी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल, लुम्बिनी प्रदेश सचिवालय सदस्यका रूपमा इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित गतिविधिमा सक्रिय रहे।
त्यसैगरी उनी बर्दघाट जेसीज वर्ष २०२२ का उपाध्यक्ष, लायन्स क्लब अफ बुद्धमंगलका संस्थापक सदस्य तथा जियोमाटिक्स इन्जिनियरिङ एसोसिएसन अफ नेपालका संस्थापक सदस्यका रूपमा सामाजिक तथा पेशागत क्षेत्रमा जोडिएका छन्।
यी भूमिकाले पौडेलको परिचयलाई केवल राजनीतिक कार्यकर्तामा सीमित नराखी इन्जिनियरिङ, युवा नेतृत्व, सामाजिक सेवा र संस्थागत संगठन निर्माणसँग जोडिएको व्यक्तित्वका रूपमा स्थापित गरेको छ।

रास्वपामा नयाँ राजनीतिक जिम्मेवारी

राजनीतिक यात्राको अर्को चरणमा पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग जोडिएका छन्। हाल उनी रास्वपाको लुम्बिनी प्रदेश सहमहामन्त्री तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा छन्।
प्रदेश तहमा संगठन विभागको नेतृत्व गर्ने जिम्मेवारीसँगै उनको मुख्य राजनीतिक भूमिका संगठन विस्तार, पार्टी संरचनालाई प्रभावकारी बनाउने, युवालाई राजनीतिक प्रक्रियामा सहभागी गराउने तथा पार्टीका कार्यक्रमलाई स्थानीय तहसम्म पु¥याउने दिशामा केन्द्रित रहेको छ।
एमालेको परम्परागत संगठनात्मक राजनीतिक अनुभवबाट सुरु भएको उनको यात्रा रास्वपाको नयाँ राजनीतिक धारसँग जोडिनुलाई पौडेलको राजनीतिक जीवनमा महत्वपूर्ण परिवर्तनका रूपमा लिन सकिन्छ। पुरानो राजनीतिक संगठनमा काम गरेर प्राप्त गरेको संगठनात्मक अनुभवलाई नयाँ राजनीतिक शक्तिको संगठन निर्माणमा प्रयोग गर्ने अवसर अहिले उनको सामु छ।

इन्जिनियरिङ र उद्यमशीलता


पौडेल राजनीतिसँगै आफ्नो प्राविधिक पेशालाई पनि निरन्तरता दिइरहेका छन्। उनी जेनिथ बी.पी. इन्जिनियरिङ कन्सल्टेन्सी तथा जेनिथ कन्स्ट्रक्सनका सञ्चालक हुन्। भू–उपयोग वर्गीकरण तथा सम्बन्धित प्राविधिक क्षेत्रमा आफ्नो न्क्ष्क् विशेषज्ञता प्रयोग गर्दै उनले व्यावसायिक क्षेत्रमा समेत काम गर्दै आएका छन्।
इन्जिनियरिङ पेशा, उद्यमशीलता, सामाजिक संस्था र राजनीतिलाई एकसाथ अघि बढाउनु उनको सार्वजनिक जीवनको अर्को विशेषता हो।

राजनीतिक व्यक्तित्वको रूपमा पौडेल


विक्रम पौडेलको राजनीतिक जीवनलाई हेर्दा उनको यात्राका तीन महत्वपूर्ण आधार देखिन्छन्—शिक्षा, संगठन र नेतृत्व। छात्रवृत्तिमा अध्ययन गर्दै विद्यालय तहदेखि नेतृत्वको अभ्यास गरेका पौडेलले विद्यार्थी संगठन हुँदै सामाजिक तथा पेशागत संस्थामा जिम्मेवारी निर्वाह गरे। त्यसपछि एमालेको युवा संगठनदेखि जिल्ला र प्रदेश तहसम्म राजनीतिक जिम्मेवारी सम्हाल्दै अहिले रास्वपाको लुम्बिनी प्रदेश नेतृत्वमा पुगेका छन्।
इन्जिनियरिङ पृष्ठभूमिका कारण विकास, पूर्वाधार, भू–उपयोग व्यवस्थापन र प्राविधिक विषयमा उनको विशेष रुचि र दक्षता रहेको देखिन्छ। त्यससँगै युवा पुस्तालाई राजनीतिमा जोड्ने, संगठनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तथा राजनीतिक नेतृत्वमा दक्ष जनशक्तिको सहभागिता बढाउने विषय उनको राजनीतिक यात्राका महत्वपूर्ण पक्ष बन्न सक्छन्।
बर्दघाटको लेबडाबाट सुरु भएको उनको यात्रा छात्रवृत्तिको विद्यार्थी हुँदै इन्जिनियर, सामाजिक अभियन्ता, उद्यमी र विभिन्न राजनीतिक संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश नेतृत्वसम्म पुगेको छ। उनको आगामी राजनीतिक यात्रा भने संगठन निर्माण, युवा सहभागिता र प्रदेशको विकाससँग जोडिएका मुद्दामा उनले कस्तो भूमिका निर्वाह गर्छन् भन्ने कुराले निर्धारण गर्नेछ।