बर्दघाट, असोज १८,
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको ग्रामीण बाल्मि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औँ वार्षिक साधारण सभा आइतबारदेखि इकाईगत रूपमा सुरु भएको छ।
असोज १८ गते आइतबार दाउन्नेदेवी सेवा केन्द्र (इकाई १) को साधारण सभा बर्दघाट-१६ स्थित क्षेत्री समाजको सभाहलमा सम्पन्न भएको।
संस्थाका अध्यक्ष रवीन्द्र विक्रम हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष हमालले ध ेेरचुनौतीका बाबजुद यस वर्ष सेयर सदस्यहरूलाई लाभांश वितरण गर्न पाउँदा खुसी लागेको बताउनु भयो। सेयर सदस्यहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी गम्भीर प्रकृतिका रोगहरू (कैन्सर, मृगौला फेल मुटुको शल्यक्रिया), मृत्यु, सुत्केरी भेटघाट तथा गम्भीर दुर्घटनामा परेका सदस्यहरूलाई ५ हजारदेखि ५० हजारसम्म आर्थिक सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिनुभयो।
कार्यक्रममा संस्थाकी सचिव राधा ढकालले गत आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण चालु आर्थिक वर्षको प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सह-सचिव कृष्णप्रसाद गौतमले संस्थाको कुल रु. १ अर्ब २२ करोड ४३ लाख ७९ हजार ७ सय ११ बराबरको आय-व्यय विवरण सार्वजनिक गर्नुभयो।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा ८ करोड ५९ लाख ३१ हजार ३ सय १८ कुल आम्दानी र ७ करोड १५ लाख २८ हजार ५ सय ५२ खर्च गरी १ करोड ४४ लाख २ हजार ७ सय ६५ सञ्चालन मुनाफा आर्जन गरेको छ। यसैगरी, ऋण सुरक्षण कोषमा ४४ लाख ४२ हजार ९ सय खर्च भई संस्थाले ९९ लाख ५९ हजार ८ सय ६३ खुद नाफा कमाएको उहाँले बताउनुभयो।
लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको थियो।
संस्थाका सल्लाहकारहरू वसन्तकुमार रेग्मी र कृष्णहरि पौडेलले मन्तव्य राख्नुभएको थियो भने सेयर सदस्यहरूले आफ्ना जिज्ञासा तथा सुझावहरू प्रस्तुत गरेका थिए।
साधारण सभाको अवसरमा संस्थाका उत्कृष्ट सेयर सदस्य, बचतकर्ता, व्यवसायी, बाल सदस्य र ज्येष्ठ सदस्य गरी ५ जनालाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको थियो।
पश्चिम नवलपरासी जिल्लाभर कार्यक्षेत्र रही बर्दघाट-७ मा केन्द्रीय कार्यालय रहेको यस ग्रामीण बाल्मीकि साकोसमा ६ हजार ९ सय ६९ महिला, ५ हजार १६ पुरुष र २ संस्थागत गरी कुल ११ हजार ९ सय ८७ जना सेयर सदस्य तथा २ हजार ३ सय २ जना बाल सदस्य आवद्ध रहेका छन्।
संस्थाले हाल बर्दघाट-४ मा बर्दघाट सेवा केन्द्र, बर्दघाट-१६ मा दाउन्नेदेवी सेवा केन्द्र, बर्दघाट-१३ जहदामा उदय मिरमिरे सेवा केन्द्र, बर्दघाट-९ पञ्चनगरमा स्वर्णिम सेवा केन्द्र, प्रतापपुरको गोपीगञ्जमा बाल्मीकि सेवा केन्द्र र केन्द्रीय कार्यालय (बर्दघाट-७) गरी ६ स्थानबाट सेवा प्रवाह गरिरहेको व्यवस्थापक अनन्त पाण्डेले जानकारी दिनुभयो।
संस्थाका उपाध्यक्ष लक्ष्मणप्रसाद ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव राधा ढकालले गर्नुभएको थियो।
प्रत्येक सेवा केन्द्रमा इकाईगत साधारण सभा सम्पन्न गर्दै आगामी असोज २४ गते संस्थाको केन्द्रीय कार्यालयमा ३३ औँ वार्षिक साधारण सभाको पूर्ण बैठक सम्पन्न गरिने आयोजकले जनाएको छ।
