Jilla Ban Notis

महेशपुर भन्सारमा क्वारेन्टाईन स्थापना गर्न माग

0 17

परासी, २१ भदौ
पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयमा क्वारेन्टाईन नहुँदा कृषि व्यापारी र कृषकलाई समस्या भएको छ । भन्सारमा क्वारेन्टाईन नहुँदा सामान निकासी पैठारीमा सास्ती भोग्नुपरेको व्यवसायी तथा कृषकले गुनासो गरेका छन् ।

कृषक हकहित संरक्षण मञ्च नवलपरासीले कृषि ज्ञान केन्द्र परासीका नवआगन्तुक कार्यालय प्रमुख डा.रबिन्द्रनाथ चौबेको सम्मानमा आज आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा सहभागि व्यवासायी तथा कृषकले भन्सारमा क्वारेन्टाईन स्थापनाका लागि पहल गरिदिन माग गरेका हुन् ।

मूल भन्सारको रुपमा स्तरोन्नती भएपनि महेशपुर भन्सारमा वस्तुको गुणस्तर परीक्षणका लागि क्वारेन्टाईन नहुँदा बेलहिया भन्सारमा जानुपर्ने बाध्यता रहेको पाल्ही भगवती एग्रो फर्म रामग्रामका सञ्चालक नरेस जयसवालले बताउनुभयो । जसले गर्दा व्यवसायी र कृषकलाई थप आर्थिक भार र समय खर्चिनुपरेको उहाँको दाबी छ ।
क्वारेन्टाईन स्थापना गरि निकासी पैठारीलाई सहज बनाउन उहाँले सम्बन्धीत निकायसँग आग्रह गर्नुभयो । खाद्यन्न, तरकारी, फलफूल तथा पशुपंक्षीजन्य वस्तुको गुणस्तर परीक्षण गरी निकासी पैठारीका लागि भन्सारमा क्वारेन्टाईन आवश्यक हुन्छ । जुन स्थानको क्वारेन्टाईन परीक्षण हुन्छ त्यही स्थानको भन्सारबाट नै निकासी पैठारी गर्नुपर्ने हुँदा महेशपुर भन्सार स्तरोन्नती भएर पनि सेवा लिन भैरहवा नै जानुपर्ने बाध्यता रहेको जयसवालको गुनासो थियो ।

सीएम फर्टिलाईजरका प्रबन्ध निर्देशक छोटेलाल अग्रहरीले भन्सार क्वारेन्टाईन कृषि मन्त्रालयसँग सम्बन्धीत रहेकोले कृषि ज्ञान केन्द्र मार्फत पहलको लागि आग्रह गर्नुभयो । क्वारेन्टाईन नहुँदा कृषि व्यापारी मारमा परेको उहाँको भनाई थियो । अग्रहरीले जिल्लामा पर्याप्त मल नहुँदा कृषक समस्यामा परेको बताउँदै जिल्लामा पर्याप्त मल भित्राउन र व्यवस्थापनका लािग आवश्यक पहल गरिदिन पनि जोड दिनुभयो ।

कृषक हकहित संरक्षण मञ्चका अध्यक्ष शम्भु उपाध्यायले भन्सारमा आवश्यक क्वारेन्टाईन स्थापनाका लागि राजनीतिक र कर्मचारी सयन्त्र दुवै निकायबाट पहल हुनुपर्ने बताउनुभयो । उहाँले कृषि ज्ञान केन्द्रको सेवालाई थप प्रभावकारी बनाउन र वास्तविक कृषकले सेवासुविधा पाउने गरि सेवाप्रवाहमा प्राथमिकता दिन नवआगन्तुक कार्यालय प्रमुख चौबेलाई आग्रह गर्नुभयो ।

ज्ञान केन्द्रका प्रमुख चौबेले महेशपुर भन्सारमा क्वारेन्टाईन नरहेको कुरा आफूलाई आज मात्रै थाहा भएको बताउँदै क्वारेन्टाईन स्थापनाका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । उहाँले राजनीतिक सयन्त्रबाट पहल गर्न सके क्वारेन्टाईन छिटो स्थापना हुन सक्ने भएकोले त्यसको वातावरण बनाउन पनि अगुवा कृषक तथा व्यवसायीलाई आग्रह गर्नुभयो ।

कार्यालय प्रमुख चौबेले तीनै तहका सरकारसँग आवश्यक समन्वय गरेर जिल्लाका कृषकलाई कृषि सेवा सहज रुपमा उपलब्ध गराउने बताउनुभयो । उहाँले मलको समस्या विगत देखि नै रहेको बताउँदै आगामी दिनमा सक्दो धेरै मल आपूर्तिको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाका सरोकारवाला निकायसँग समन्वय र सहयोगबाटै आफू अघि बढ्ने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, तराई विकास प्रतिष्ठानका अध्यक्ष बुद्धन अलि, दैनिक24 खबरका सम्पादक मोहन पौडेल लगायतले पनि नवआगन्तुक प्रमुख चौबेलाई स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.