Sarawal notish

नयाँ सशस्त्र प्रहरी जवान कार्यक्षेत्रमा : सीमा सुरक्षा र राष्ट्रिय सेवामा समर्पित हुने प्रतिबद्धता

619

बर्दघाट, असोज ३०
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय, पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित सिन्हा नम्बर २३९ (छ) सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरी १२५ जना नयाँ सशस्त्र प्रहरी जवानहरू दीक्षित भएका छन । दीक्षान्त समारोहका बीच उनीहरूलाई दीक्षित गरी कार्यक्षेत्रमा पठाइएको हो ।
शिक्षालय प्रमुख एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिर सुवेदीका अनुसार राष्ट्र र नागरिक सेवाको उच्च अभिलाषा बोकेर फौजी संगठनमा प्रवेश गरेका यी जवानहरूलाई ४० हप्ताको कडा तथा बहुआयामिक तालिम प्रदान गरिएको थियो ।
“बगाए पसिना तालिममा, बग्ने छैन रगत रणभूमिमा” भन्ने मूल आदर्श वाक्यलाई आत्मसात् गर्दै दीक्षित भएका नयाँ जवानहरू देशका विभिन्न भागमा शान्ति सुरक्षा र सीमा रक्षाका लागि प्रस्थान गरेका छन्।
दीक्षान्त समारोहलाई बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक किरण बस्नेतले राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “तालिममा हासिल गरेको ज्ञान, सीप र अनुशासनलाई व्यावसायिक जीवनमा पूर्ण निष्ठाका साथ लागू गर्दै देश र जनताको सेवामा समर्पित हुन आवश्यक छ।”
२०८२ साल मंसीर १९ गतेदेखि सुरु भएको दुई चरणको यस आधारभूत तालिममा शिक्षार्थीहरूलाई शारीरिक सुगठन, हातहतियार सञ्चालन, कवाज (ड्रिल), युद्धकला, नक्सा अध्ययन, मानव अधिकार तथा मानवीय कानुन, सीमा सुरक्षा एवं सशस्त्र प्रहरी बलसम्बन्धी विभिन्न ऐन-नियमका व्यावहारिक र सैद्धान्तिक विषयहरूमा दक्ष बनाइएको छ ।
तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी उपरीक्षक सुर्य प्रसाद तिमिल्सेनाका अनुसार तालिममा कुल १२६ जना सहभागी भएकोमा १२५ जनाले सफलताका साथ तालिम पूरा गरेका हुन् । तालिम समापनपश्चात् प्राप्त अन्तिम नतिजाअनुसार ‘ख’ कक्षमा ८ जना, ‘ख’ त्रीमा १ जना, ‘ग’ कक्षमा २२ जना, ‘ग’ त्रीमा ५५ जना र ‘घ’ त्रीमा ३९ जना गरी १२५ जनाले सफलता हासिल गरेका छन् ।
दीक्षान्त समारोहका बिभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने सशस्त्र प्रहरी जवानहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा व्यावहारिक विधामा तर्फ देवान सिंह थापा , सैद्धान्तिक तथा कवाज विधामा हरिसरा गुरुङ्ग , सहिष्णुता विधामा राज कपूर यादव र चाँदमारी (फायरिङ) विधामा समिर परियार रहेका छन् । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू सहित अन्य सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो ।