sunwal

रसुवा बाढीपीडितका लागि बर्दघाट–१६ का महिला समूहको उदाहरणीय सहयोग

513

कृष्ण ढकाल
बर्दघाट, भदौ–१५

रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले बर्दघाट नगरपालिका–१६ का विभिन्न महिला समूहले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् ।

प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत उपलब्ध गराउने अभियानअन्तर्गत वडा नं. १६, केरावारीस्थित ममता बुहारी समूहले ११ हजार १ सय ५ रुपैयाँ सहयोग गरेको छ । समूहकी अध्यक्ष मोती राना र सचिव सरमिला परियारले सहयोग रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

यसैगरी, शान्तिचोकस्थित शान्तिटोल आमा समूहले १२ हजार ९ सय ५५ रुपैयाँ सहयोग गरेको छ । समूहकी अध्यक्ष श्रीमाया गुरुङ र सचिव मनु बस्नेतले विपद्मा परेका नागरिकलाई आफ्नोतर्फबाट पनि सहयोग पु¥याउने उद्देश्यले रकम संकलन गरी कोषमा उपलब्ध गराइएको बताउनुभयो ।

त्यस्तै, केरावारीकै सृजना आमा समूहले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । समूहकी अध्यक्ष शन्तकुमारी गुरुङ र सचिव देवसरा गुरुङले बाढीपीडितको दुःखमा साथ दिन सहयोग रकम प्रदान गरिएको जानकारी दिनुभयो ।

तीनवटै महिला समूहले उपलब्ध गराएको रकम जोड्दा ३५ हजार १ सय ७१ रुपैयाँ हुन्छ । विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व बहन गर्दै स्थानीय महिला समूहले गरेको यो सहयोगले पीडित परिवारलाई राहत पुर्‍याउने अपेक्षा गरिएको छ ।