कृष्ण ढकाल
बर्दघाट, भदौ–१०
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको उद्देश्य एउटै भएकाले उपभोक्ताको हकहित र अधिकारका लागि दुवै महासंघ एक भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय सदस्य दीपक लम्सालले दुवै महासंघको उद्देश्य समान रहेकाले माथिदेखि तलसम्म एकता आवश्यक रहेको बताउनुभयो। एउटै व्यक्ति २४ वर्षसम्म अध्यक्ष भइरहने अवस्था राम्रो नभएको उल्लेख गर्दै उहाँले खानेपानी उपभोक्ताको अधिकार सुनिश्चित गर्न दुवै महासंघबीच एकता हुनुको विकल्प नभएको बताउनुभयो।
उहाँले प्रत्येक खानेपानी संस्थामा उपभोक्तालाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउन ‘खानेपानी सुरक्षा योजना टोली’ गठन गर्नुपर्नेमा जोड दिनुभयो। खानेपानी संस्थाहरूप्रति राज्यको दृष्टिकोण परिवर्तन हुनुपर्ने माग गर्दै सरकारले खानेपानीमा लगाउँदै आएको २५ प्रतिशत कर हटाएकोमा उहाँले सरकारलाई धन्यवादसमेत दिनुभयो।
महासंघका अर्का केन्द्रीय सदस्य दीपक पौडेलले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई भ्रममा नपारी उनीहरूको हक, अधिकार र हितका लागि सबैलाई एकताबद्ध गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो।
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, पश्चिम नवलपरासीको आयोजनामा बर्दघाटमा आयोजित एकदिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण तालिममा बोल्दै उहाँहरूले यस्तो धारणा राख्नुभएको हो। तालिममा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकाका २१ वटा खानेपानी संस्थाका करिब ७५ जना प्रतिनिधिको सहभागिता थियो।
तालिममा खानेपानी संस्थाका अध्यक्ष, व्यवस्थापक, प्लम्बर तथा प्राविधिकलाई लक्षित गरी खानेपानी व्यवस्थापन, सुरक्षा तथा संस्थागत जिम्मेवारीका विषयमा प्रशिक्षण दिइएको थियो।
बर्दघाट नगरपालिकाका वास (WASH) शाखा प्रमुख कृष्णहरि पौडेलले खानेपानी सुरक्षा योजना टोली गठनको प्रक्रिया, आवश्यकता र जिम्मेवारीका विषयमा सहजीकरण गर्नुभयो। जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय परासीका सब–इन्जिनियर विधान कँडेलले खानेपानीको महत्त्व, समितिको दायित्व तथा प्लम्बर र व्यवस्थापकको भूमिकाबारे जानकारी गराउनुभयो।
त्यस्तै, वरिष्ठ इन्जिनियर कुलदेव श्रेष्ठले मुहान, भूमिगत जल तथा खानेपानी संस्थाका संरचना व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो।
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासीका जिल्ला अध्यक्ष गुप्तबहादुर केसीको अध्यक्षता तथा जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय नवलपरासीका प्रमुख दिनेशकुमार शाहको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले जलवायु परिवर्तनका कारण भूमिगत जल तथा पानीका मुहानहरू सुक्दै गइरहेकाले पानी पुनर्भरण (रिचार्ज) पोखरी निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले जिल्लामा रोकिएका खानेपानीसम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सभाहलमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका निवर्तमान जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठलगायतले आफ्ना धारणा राख्नुभएको थियो। सहभागीहरूले आफ्ना खानेपानी संस्थाले भोगिरहेका समस्या तथा चुनौतीबारे जिज्ञासा राखेका थिए।
महासंघकी जिल्ला उपाध्यक्ष मञ्जु न्यौपाने पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव केशवकान्त न्यौपानेले गर्नुभएको थियो भने जिल्ला सदस्य राधादेवी अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
