sunwal

श्रीमहर्षी सहकारीको नेतृत्वमा सागर पाण्डे

८ वर्षमा झण्डै ११ करोडले बढ्यो वासलात

481

कृष्ण ढकाल
बर्दघाट, भदौ–१४

श्रीमहर्षी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुस्ता–२ महलवारीको १७औँ वार्षिक साधारण सभा तथा छैटौँ नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ।

श्रीदुर्गा पञ्चायन मन्दिरको सभाहलमा सम्पन्न नेतृत्व चयन कार्यक्रममा सागर पाण्डेको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।

निर्वाचन समितिका संयोजक विष्णुप्रसाद ढकालका अनुसार समितिको अध्यक्षमा सागर पाण्डे, उपाध्यक्षमा ईश्वरीप्रसाद उपाध्याय, सचिवमा केशव ज्ञवाली र कोषाध्यक्षमा दीपकराज गैरे चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा इन्द्रकुमारी थरुनी, गौरी पाण्डे, हरिकला बस्याल, गोविन्दप्रसाद गैरे र महातमप्रसाद हरिजन चयन हुनुभएको छ।

त्यस्तै, संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा होमकान्त लम्साल तथा सदस्यहरूमा कमलप्रसाद न्यौपाने र देवीप्रसाद न्यौपाने चयन हुनुभएको छ।

श्रीमहर्षी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिल्लीराम काफ्लेको अध्यक्षता तथा सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले सहकारीले ग्रामीण क्षेत्रका मानिसहरूको जीविकोपार्जनमा सहजता ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले सहकारीमा बचत गर्ने बानीको विकास भएपछि मानिसहरूको फजुल खर्चमा कमी आउने र दुःख तथा आपत्का समयमा बचत गरेको रकम महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा सुस्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा संस्थाका सल्लाहकार रामप्रसाद पाण्डे, सल्लाहकार मोतीराम ढकाल, सुस्ता गाउँपालिकाका सहकारी शाखा प्रमुख सनतकुमार गिरी, सुस्ता सहकारी सञ्जालका सचिव कृष्णप्रसाद पन्थलगायतले सहकारीको भूमिका तथा आगामी कार्यदिशाका विषयमा आ–आफ्ना भनाइ राख्नुभएको थियो।  कार्यक्रममा एस. ई.ई. परिक्षामा एप्लस ल्याउने संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरुलाई सम्मान समेत गरीएको थियो ।

८ वर्षमा झण्डै ११ करोडले बढ्यो वासलात

संस्थाका अध्यक्ष डिल्लीराम काफ्लेले आफ्नो नेतृत्वको कार्यकालमा सहकारीको आर्थिक तथा सदस्य विस्तारमा उल्लेख्य प्रगति भएको बताउनुभयो।

उहाँका अनुसार २०५७ साल असोज ६ गतेदेखि दुई कार्यकाल अर्थात् आठ वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्दा संस्थाको वासलात ४ करोड ५६ लाख ८५ हजार ७ सय ७७ रुपैयाँ रहेको थियो। आठ वर्षपछि नवनिर्वाचित अध्यक्ष सागर पाण्डेको नेतृत्वलाई १५ करोड ३९ लाख ९८ हजार ७१ रुपैयाँ बराबरको वासलात हस्तान्तरण गर्न सफल भएको उहाँले बताउनुभयो।

त्यस्तै, संस्थामा ३ सय ५५ जना शेयर सदस्य रहेको अवस्थाबाट अहिले ८ सय ९६ जना शेयर सदस्य र ३ सय ५६ जना बाल बचतकर्तासहित कुल १ हजार २ सय ५२ जना सदस्य तथा बचतकर्ता पुर्‍याउन सफल भएको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो।

अध्यक्ष काफ्लेले संस्थाको विकासमा सहयोग गर्ने शेयर सदस्य, बचतकर्ता, कर्मचारी, सञ्चालक समिति तथा शुभेच्छुक सबैप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित नेतृत्वले संस्थालाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।