कृष्ण ढकाल
बर्दघाट, भदौ–१५
रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले बर्दघाट नगरपालिका–१६ का विभिन्न महिला समूहले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् ।
प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत उपलब्ध गराउने अभियानअन्तर्गत वडा नं. १६, केरावारीस्थित ममता बुहारी समूहले ११ हजार १ सय ५ रुपैयाँ सहयोग गरेको छ । समूहकी अध्यक्ष मोती राना र सचिव सरमिला परियारले सहयोग रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।
यसैगरी, शान्तिचोकस्थित शान्तिटोल आमा समूहले १२ हजार ९ सय ५५ रुपैयाँ सहयोग गरेको छ । समूहकी अध्यक्ष श्रीमाया गुरुङ र सचिव मनु बस्नेतले विपद्मा परेका नागरिकलाई आफ्नोतर्फबाट पनि सहयोग पु¥याउने उद्देश्यले रकम संकलन गरी कोषमा उपलब्ध गराइएको बताउनुभयो ।
त्यस्तै, केरावारीकै सृजना आमा समूहले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । समूहकी अध्यक्ष शन्तकुमारी गुरुङ र सचिव देवसरा गुरुङले बाढीपीडितको दुःखमा साथ दिन सहयोग रकम प्रदान गरिएको जानकारी दिनुभयो ।
तीनवटै महिला समूहले उपलब्ध गराएको रकम जोड्दा ३५ हजार १ सय ७१ रुपैयाँ हुन्छ । विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व बहन गर्दै स्थानीय महिला समूहले गरेको यो सहयोगले पीडित परिवारलाई राहत पुर्याउने अपेक्षा गरिएको छ ।
