कृष्ण ढकाल
बर्दघाट,असोज–८
बर्दघाट नगरपालिका वडा नं. १५ ले घर–घरमा गएर वडाका जेष्ठनागरीक,एकलमहिला र अपाङ्गता भएका ब्यक्तिहरुको बायोमेट्रिक प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न शरु गरेको छ ।
गत सोमवार देखि शुरु गरेको नविकरण अभियाका क्रममा आज तेस्रो दिन सम्म २५ जनाको विवरण नविकरण गरिसकेको वडाध्यक्ष रुद्र बहादुर आले (मिलन) ले जानकारी गराउनु भएको छ । वडाध्यक्ष आलेका अनुसार ७ सय बढी सामाजिक सुरक्षा भक्ता लिने ब्यक्तिहरु वडामा रहेको भएपनि वडामा जान नसक्ने जेष्ठनागरीक,एकलमहिला र अपाङ्गता भएका ब्यक्तिहरुको सहजताका लागि आफुस्वयमले कर्मचारी लिएर वडावासीहरुको घर–घरमा सेवादिन गएको बताउनु भयो ।

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, व्यवस्थित र पारदर्शी बनाउन बायोमेट्रिक प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने व्यवस्था अघि बढाएको छ। नयाँ व्यवस्थाअनुसार लाभग्राहीले आफ्नो सामाजिक सुरक्षा भत्ता परिचयपत्र नम्बरका आधारमा बायोमेट्रिक विवरण दिएर नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ।
यसअघि लाभग्राहीले प्रत्येक आर्थिक वर्षको साउन र भदौभित्र सम्बन्धित वडा कार्यालयमा स्वयं उपस्थित भएर परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था थियो। नयाँ व्यवस्थाले यस्तो प्रक्रियालाई थप सहज बनाउने लक्ष्य राखेको छ ।
