sunwal

जिसन नवलपरासीको २४ औँ स्थापना दिवस सम्पन्न

529

कृष्ण ढकाल
सुनवल, साउन–२२

जिसन नवलपरासीले आफ्नो २४ औँ स्थापना दिवस सुनवलमा मनाएको छ। संस्थाका अध्यक्ष थमन शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, नवलपरासीका प्रमुख महेन्द्र सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि सुवेदीले प्रविधिमैत्री विद्यालय निर्माण गर्न जरुरी रहेको बताउनु भयो। उहाँले अब पढाइलाई सिकाइमैत्री बनाउँदै विद्यार्थीमा पढाइसँगै सीप विकासमा समेत जोड दिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा जिसन नवलपरासीका वरिष्ठ सल्लाहकार इन्द्र गुरुङले संस्थामा आबद्ध हुने विद्यालयको संख्या समयअनुसार थपघट भइरहने बताउनुभयो। उहाँका अनुसार हाल जिसन नवलपरासीमा ३५ वटा विद्यालय आबद्ध रहेका छन्।

गुरुङले संस्थाले समयमै लेखापरीक्षण गर्ने, वार्षिक साधारण सभा गर्ने तथा विभिन्न कार्यक्रमलाई आफ्नै क्यालेन्डरअनुसार सञ्चालन गर्दै आएको बताउँदै यसलाई संस्थाको सकारात्मक पक्षका रूपमा उल्लेख गर्नुभयो।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघका पूर्व उप–महासचिव यमलाल लोहनीले विभिन्न प्रकाशनका पाठ्यपुस्तकका विषयवस्तुलाई समयअनुसार परिमार्जन गर्नुपर्ने बताउनुभयो। उहाँले कतिपय पाठ्यक्रम अनावश्यक हुनसक्ने भन्दै त्यसतर्फ समेत पुनरावलोकन आवश्यक रहेको धारणा राख्नुभयो।

त्यसैगरी कार्यक्रममा सुनवल नगर शिक्षा शाखा प्रमुख पशुपति भट्टराई, नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका कार्यवाहक अध्यक्ष विकास अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा जिसन नवलपरासीमा आबद्ध ३५ विद्यालयका प्रतिनिधि तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।