Bardaghat Na pa

सवारी दुर्घटनाको समाचार प्रति सुस्ता गाउँपालिको ध्यानाकर्षण

667

कृष्ण ढकाल
बर्दघाट,असार–१
बुटवलमा कार्यालयकै काम सम्पन्न गरी फर्किने क्रममा सुनवल–१२ हरकट्टामा भएको सवारी दुर्घटनाका विषयमा आएको समाचार प्रति सुस्ता गाउपालिकाले आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ। सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त बिषयको प्रष्टिकरण सहितको विज्ञप्ती जारी गर्नु भएको छ ।

विज्ञप्तीमा भनिएको छ जेष्ठ २९ गते शुक्रबार कार्यालय प्रमुख र चालक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा कार्यालयकै कामका लागि गाउँपालिकाबाट स्वीकृति लिएर गएको र काम सम्पन्न गरी फर्किने क्रममा सुनवल–१२ हरकट्टामा गाउँपालिकाको गाडी ट्रकसँग ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको र सवारी साधनको पूर्ण बीमा गरिएको कारण मर्मत सम्भारको खर्च बीमा मार्फत व्यवस्थापन हुने र यसका लागि गाउँपालिकाले कुनै अतिरिक्त आर्थिक भार व्यहोर्नु नपर्ने उल्लेख गरिएको छ।

दुर्घटना आकस्मिक र अप्रत्याशित घटना भएको उल्लेख गर्दै घटनालाई लिएर तथ्य नबुझी विभिन्न माध्यमबाट भ्रामक समाचार र टिप्पणी गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ ।

त्यसैगरी, गाउँपालिकाको एक मात्र सवारी साधन अध्यक्षसहित कर्मचारी र योजनाको अनुगमन जस्ता कार्यालय प्रयोजनका लागि प्रयोग हुँदै आएको र व्यक्तिगत प्रयोजनका लागि सवारी साधन प्रयोग नगरिएको दाबी गर्दै स्थानीयवासीलाई अपुष्ट समाचारको पछि नलाग्न आग्रह गरिएको छ।

गाउँपालिका अध्यक्ष उपाध्यायले विकास निर्माण र सेवा प्रवाहका काममा सकारात्मक सहयोग गर्न तथा कमजोरी भए खबरदारी गर्न नागरिक र सञ्चारमाध्यमलाई अनुरोध गर्दै तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह गर्नु भएको छ ।