कृष्ण ढकाल
बर्दघाट,बैशाख–२५
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका लाई आज जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवले पुर्ण खोप तथा पूर्ण संस्थागत प्रसूती नगरपालिका घोषणा गर्नु भएको छ । नगरका सबै स्वास्थ्यकर्मीहरु र राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयसेविकाहरुको सहयोगमा नगरका सबै घरधुरीहरु सर्वेक्षण गरेर मात्र बर्दघाट नगरपालिका पुर्ण खोप तथा पूर्ण संस्थागत प्रसूती नगरपालिका घोषणा गरीएको बर्दघाट नगरका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले बताउनु भएको छ ।
करिव ८० हजार जनसंख्या रहेको बर्दघाट नगरमा १७ वटा स्वास्थ्य संस्थाहरुले नगरको माताहतमा रहेर काम गरेकै कारण बर्दघाट नगर दुई बर्ष अगाडि नेपालकै पहिलो सस्थागत सुत्केरी सेवा पुर्ण रुपमा उपलब्ध गराउने नगरपालिका घोषणा गरिएको शाखाप्रमुख ज्ञवालीले बताउनु भयो ।
घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले बर्दघाट नगर शिक्षा र स्वास्थ्यको क्षेत्रमा अनुकरणीय रहेको बताउनु भएको थियो । मानव विकास सूचकाङ्क सुधारका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहने भन्दै किशोर–किशोरी तथा बालबालिकालाई लक्षित कार्यक्रम थप प्रभावकारी ढंगले सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी काम गर्दा स्वास्थ्य क्षेत्रमा सकारात्मक उपलब्धि देखिएको बताउनु भयो । संक्रमक तथा नसर्ने रोगको उपचार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा नगर गम्भीरताका साथ लागिपरेको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले नगरलाई छिट्टै ‘बालमैत्री नगरपालिका’ घोषणा गर्न लागिएको जानकारी दिनु भयो । नगर प्रमुख श्रेष्ठले सेवा अवधी सकिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई नगरले दिदै आएको २ लाख रकममा अब आउदो आर्थिक वर्षबाट ५० हजार थपेर २ लाख ५० हजार रुपैया प्रदान गर्ने योजना अघि सारेको सार्वजनीक गर्नु भएको थियो । त्यसैगरी आउदो आर्थिक बर्षमा नै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक÷ एक थान मोबाइल उपलब्ध गराउन र प्रोत्साहन भत्तामा वृद्धि गरि ढाई लाख पुर्याउने गरि सोही अनुरुप बजेट विनियोजन गरिने प्रतिवधता समेत जाहेर गर्नु भएको थियो ।
नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले सामाजिक र आर्थिक विकाससँगै किशोर र बालबालिकालाई सही मार्गमा डोर्योउन नगर प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले सामाजिक सूचकाङ्क सुधारका लागि गरिएको स्वास्थ्य सम्बन्धी कामहरूको नियमित समीक्षा भइरहेको उल्लेख गर्नु भयो ।
स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अङतबहादुर शाहीले पुर्ण खोप अभियानले ९० प्रतिशतभन्दा बढी रोगवाट बच्न सकिने बताउनु भयो । खोपले व्यक्तिलाई मात्र नभइ भविष्यको पुस्तालाई सुरक्षित बनाउने भएकाले सबै बालबालिकालाई अनिवार्य खोप आवश्यक रहेको उहाको भनाइ रहेको थियो ।
स्वास्थ्यकर्मी भेषराज शर्माले अभियान सुरु हुँदा १५ प्रतिशत बालबालिकाले खोप नपाएको अवस्था रहेको उल्लेख गर्दै हाल सबै बालबालिकाले खोप प्राप्त गरिसकेको बताउनु भयो । बर्दघाट नगरले पुर्ण खोप र सस्थागत सुत्केरी घोषणा पहिले गर्दै नितिगत रुपमा अब्बल काम गरिसकेको उल्लेख गर्दै उहाले अब केहि नयाँ आयमको सुरुवात गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ, बेस नेपालका शालिकराम पोख्रेल, महिला स्वयंसेविका अमृत पौडेल, स्वास्थ्यकर्मी सुदिपा शर्मा, नेपाल पत्रकार महासंघ उपाध्यक्ष विकास अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमकाे सञ्चालन कृष्णहरि पौडेलले गरनु भएकाे थियो ।
प्रोटोकल अनुसार गरिएको चारपटकको स्वास्थ्य परीक्षणमा १ हजार ३ सय ९९ महिलामध्ये ९५ दशमलव ८२ प्रतिशतले स्वास्थ्य संस्था पुगेर प्रसूति गराएको तथ्याङ्क छ। १५ महिनासम्मका १ हजार २ सय बालबालिकाको खोप कार्ड बनेको छ भने १६ महिना देखि ५९ महिनासम्मका ३ हजार ५ सय ८२ बालबालिकाले खोप प्राप्त गरिसकेका छन्। हाल बालबालिकाहरुलाई १४ प्रकारका रोगविरुद्ध खोप प्रदान गरिएको छ ।