Jilla Ban Notis

संस्कृति संरक्षणमा संस्थागत विद्यालयहरु अगाडी ः प्याब्सन सचिब न्याैपाने

0 85

बर्दघाट,माघ- ८
नेपाली मौलिक संस्कृति संरक्षणमा संस्थागत विद्यालयहरुले महत्वपुर्ण योगदान गरेको निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सचिव सुवर्ण न्यौपानेले बताउनु भएको छ ।
बर्दघाट ५ पालडाँडामा रहेको होली केयर इङ्गिलस सेकेण्डरी स्कुलको २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै सचिव न्यौपानले संस्थागत विद्यालयको योगदानलाई राज्यले चिन्न नसकेको बताउनुभयो ।
“संस्थागत विद्यालयले पठनपाठनमा मात्र नभई धर्म, कला, संस्कृतिमा समेत सामुदायिक विद्यालयको तुलनामा अगाडी रहेका छौँ । विभिन्न कार्यक्रममा विद्यार्थीहरुको मन मुटु र मष्तिक भरी नेपालीपन झल्कीने खालका साँस्कृतिक सामुदायिक विद्यालयहरुको भन्दा अब्बल छौँ ।” उहाँले भन्नुभयो ।
नेपालको संविधानमा निःशुल्क शिक्षा भनिएपनि राज्यको अर्थतन्त्रले थेग्न नसक्ने अवस्था रहेको न्यौपानेले बताउनुभयो । न्यौपानेले भन्नुहुन्छ “सामुदायिक विद्यालयहरुले सबै विद्यार्थीहरु थेग्न सक्दैनन्, संस्थागत विद्यालयमा विद्यार्थी पढाएर अभिभावकहरुले राज्यलाई ठुलो गुन लगाउनु भएको छ ।”
प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाँई, जिल्ला अध्यक्ष गुरुदत्त पौडेलले संस्थागत विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गरेको बताउँदै पठनपाठनका साथै अतिरिक्त क्रियाकलापहरुमा समेत संस्थागत विद्यालयहरुले जोड दिएको बताउनुभयो ।
शैक्षिक ऐक्यबद्धताको समूह नेपाल (जिसन) नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरुङ र प्रमुख सल्लाहकार सन्तोष रौनियारले बच्चालाई जिज्ञासु बनाउन अभिभावकको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
आइतबार देखि सञ्चालन भएको २९ औँ वार्षिकोत्सवमा खाना महोत्सव, विज्ञान प्रर्दशनी, पुरस्कार वितरण, लाखे नाच, लाठी नाच, छलिया नाच, साकेला नाच, मारुनी नाच, कौडा नाच लगायतको प्रस्तुती रहेको विद्यालयका प्रिन्सिपल इन्द्र गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयकी लेखापाल देवी गुरुङ, शिक्षक दिपेश मल्ल, सवारी चालक खेम गुरुङ साथै अभिभावक तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम लक्ष्मी गुरुङ र षणेन गुरुङले सञ्चालन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.