Jilla Ban Notis

अब देशलाई स्कुल चाहिदैन !

0 80

स्कुलै छेउमा मदिरा पसल
दिनभरी खुलेको छ
त्यसैको छेउमा स्कुलमा चाहिँ
भोटे ताल्चा लागेको छ
पढ्न जाउ भन्यो पढ्न पाइदैन
अब देशलाई स्कुल चाहिदैन!

मदिरा पसलमा
जोडिहरु अङ्गालो हालेर बस्छन्
कोरोना सर्दैन
स्कुलमा स्वास्थ्यको मापदण्ड हुन्छ
त्यसैले
सरकारलाई बच्चा स्कुल गएको मन पर्दैन
गेट बन्द छ सिक्न पाईदैन
अब देशलाई स्कुल चाहिदैन!

चुरोटको धुवाँ उडेको छ
चिया पसलहरुमा
नेताहरु गफिएका छन फोस्रा गफहरुमा
बसमा उभिने ठाउँ छैन
यातायातमा ठेलम्ठेल छ
मालपोतमा पेलम्पेल छ
कोरोना स्कुलमा मात्र छ पस्न पाइदैन
अब देशलाई स्कुल चाहिदैन!

पार्टिको अधिवेशन चलेको छ
त्यहाँ कोरोना सर्दैन
बजारमा तछाड र मछाड चलेको छ
त्यहाँ कोरोनाले कोही मर्दैन
तर स्कुल भित्र आजकल कोरोना पसेको छ
पढ्न जान पाइदैन
अब देशलाई स्कुल चाहिदैन!

लाग्छ स्कुलका शिक्षक कोरोना हुन्
उनिहरुले पढाएको ज्ञान ओमिक्रोन हो
बालबालिका बस्ने डेस्क बेन्च भरी
कोरोनाको डङ्गुर छ
बाटो चाहिँ जाम छ
कोरोना निसासिएर मरेको छ
यहाँ जे पनि गर्न पाईन्छ पढ्न पाइदैन
अब देशलाई स्कुल चाहिदैन!

सरकार भन्छ
स्कुल भन्दा सडक सुरक्षित छ
स्कुल भन्दा भट्टि पसल सुरक्षित छ
अनि स्कुल भन्दा साझा बस सुरक्षित छ
यातायात बिभाग र मालपोत सुरक्षित छ
स्कुल जान मनाही छ
त्यसैले स्कुल जान पाइदैन

अब देशलाई स्कुल चाहिदैन!
पढेर मान्छे जान्नेसुन्ने भए
पढेर मान्छे कर्तुत बुझ्ने भए
पढेर मान्छे वाइडबडी र ॐनि बुझ्ने भए
मिलमत्तोमा देश सकिएको बुझ्ने भए
त्यसैले स्कुल जान पाइदैन

@ प्रेम राई

Leave A Reply

Your email address will not be published.