परासी, ३१ असार
नवलपरासी९ बर्दघाट सुस्ता पश्चिम ० को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिज विरुद्धको खोप लगाईदिएका छन् ।
खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका – ९ कि तीन वर्षीय बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाईने खोप लगाईदिएको बालिकाका आफन्तले बताएका छन् ।
बालिकाका आफन्तले स्वास्थ्यकर्मीले चरम लापरबाही गरि छोरीको स्वास्थ्य माथि खेलवाड गरेको आरोप लगाए । अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोईरालाले रेबिज विरुद्धको खोप लगाईरहेको लाईनमा बालिकाकि आमाले बालिकालाई पनि खोपको लाईनमै लगेकोले भुलवश रेबिज विरुद्धको खोप लगाईएको अस्पतालले जनाएको छ ।
अस्पतालका निमित्त प्रमुख मेसु डा। मोहम्मद नुरुल होदाले कोठा अभावका कारण प्लाष्टर गर्ने र खोप लगाउने कोठा एउटै रहेकोले खोप लगाउन आह्वान गर्दा प्लाष्टरको लागि लाईनमा बसेका बालिकाका अभिभावकले झुक्किएर खोप लगाउन लएको र स्वास्थ्यकर्मीले पनि उसको पुर्जि नहेरी खोप लगाईदिँदा दुवैपक्षबाट गल्ती हुन पुगेको बताउनुभयो ।
रेबिज विरुद्धको खोप लगाउँदा स्वास्थ्य जोखिममा नहुने भएकोले आत्तिनुपर्ने अवस्था भने नरहेको उहाँले बताउनुभयो । खोप लगाउने कर्मचारीलाई तत्काल सचेत गराई अबदेखि यस किसिमका घटना नदोहो¥याउने प्रतिवद्धता गराईएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले घटनाबारे सूचना पाए लगत्तै सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीसहित स्थलगत जानकारी लिदै दोषी कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न र चित्त बुझ्दो जवाफ नआए विभागिय कारबाहीका लागि सिफारिस गर्न अस्पतालका निमित्त प्रमुख होदालाई निर्देशन दिनुभयो ।
“यो गम्भीर लापरबाही हो, रेबिज विरुद्धको खोपको ठाउँमा अन्य खोप परेको भए बालिकाको स्वास्थ्य जोखिममा पर्न सक्थ्यो , यो खोपले स्वास्थ्य जोखिम नहुने देखिए पनि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दोषी कर्मचारीलाई त्यतिकै उन्मुक्ति दिन मिल्दैन”, उहाँले भन्नुभयो ।