Sarawal sit lahar Notis

भूमि आयोगद्धारा गाउँपालिकामा लगत संकलन सम्बन्धि अभिमुखिकरण

30

मोहन पौडेल
परासी, २० चैत
भूमि सम्बन्धि समस्या समाधान आयोग पश्चिम नवलपरासीले जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलनका बारेमा अभिमुखिकरण गरेको छ ।
जिल्लाको पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी, राजनीतिक दल र सहजीकरण समितिका पदाधिकारीहरुलाई सम्बन्धित पालिकामै गई छुट्टाछुट्टै अभिमुखिकरण गराइएको आयोगले जनाएको छ ।
अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष विमला अर्यालले तत्कालै लगत संकलन गरी नापी कार्य अघि बढाउनका लागि पालिकाहरुलाई प्रक्रिया थाल्न अुनरोध गर्नुभयो । उहाँले सहभागिबाट प्राप्त जिज्ञासाको जवाफ पनि दिनुभएको थियो । लगत संकलनको विषयमा सुनवल नगरपालिकाका भूमि लगत संकलन ईकाईका फोकल पर्सन गणेश न्यौपानले सहजीकरण गर्नुभएको थियो ।
कँही कतै आफ्नो र परिवारको नाममा जग्गा नभएकाले अनुसूचि ३ को ‘भूमिहीन सुकुम्बासी’ फारम भर्नुपर्ने, अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफुले ऐलानीपर्ति जग्गा जोतभोग गर्दै आएकाले अनुसूचि ४ को ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने विषयमा जानकारी गराउँदै फारम भर्ने तरिकाका बारेमा स्पष्ट पारिएको आयोगले जनाएको छ ।
पछिल्लो पटक सम्झौता गरिएका गाउँपालिकाहरुमा यो तेस्रो चरणको अभिमुखिकरण गरिएको अध्यक्ष अर्यालले बताउनुभयो । बुधबार पाल्हीनन्दनमा भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताको अध्यक्षता, विहीबार प्रतापपुरमा भएको कार्यक्रम कार्यबाहक गाउँपालिका अध्यक्ष अन्जु चौधरीको अध्यक्षता र सुस्तामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो भने आयोगका जिल्ला सदस्य कृष्णप्रसाद बगाले, विज्ञ सदस्य बद्रीमान श्रेष्ठ लगायतको पनि सहभागिता थियो ।