Bardaghat Na pa

हुलाकी सडक निर्माणमा अवैध रुपमा चोरी गरेर ल्याइएका नदीजन्य पदार्थको प्रयोग

156

हरि शर्मा
परासी
नवलपरासीस्थित हुलाकी सडक निर्माणमा अवैध रुपमा चोरी गरेर ल्याइएका नदीजन्य पदार्थको प्रयोग भएको पाइएको छ । दुई खण्डमा निर्माण भइरहेको सडकमा चोरी गरेर ल्याइएका नदीजन्य पदार्थ प्रयोग भएपछि स्थानीयले विरोध गरेका छन् ।

पश्चिम नवलपरासीमा भइरहेको हुलाकी सडक निर्माण कार्यमा अवैध रुपमा चोरी गरेर ल्याइएका नदीजन्य पदार्थ प्रयोग भएको स्थानीय तहहरुले जनाएका छन् । चोरी गरी प्रयोग गरिएका नदीजन्य पदार्थ नारायणी नदी अर्थात गण्डक क्षेत्रका हुन् ।

गण्डक सम्झौताअनुसार नारायणी नदीमा ठेक्का लगाउन पाइँदैन । तर राष्ट्रिय गौरवको आयोजना भएकाले स्थानीय तहलाई राजस्व तिरेपछि प्रयोग गर्न पाइने प्रावधान छ ।

राजस्व तिर्नुभन्दा सस्तोमा पाइने भएकाले चोरीको सामाग्री प्रयोग गरिएको र पटक पटक सचेत गराउँदा पनि निर्माण कम्पनीले अटेरी गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तु अन्तर्गत निर्माण सुरु भएको सडकको जिम्मेवारी छुट्टाछुट्टै तीन वटा निर्माण कम्पनीलाई दिइएको छ ।

कुल ९३ करोडको लागतमा अहिले ९ किमिको प्रतापपुर–कठहवा सडक, १६ किमिको नारायणचोक–त्रिवेणी सडक र १२ किमिको परासी–नारायणचोक जोड्ने सडकमा निर्माण कार्य भइरहेको हो ।

ती सडकहरुमा चोरीका नदीजन्य पदार्थ प्रयोग मात्र होइन गुणस्तरहीन काम भएकोसमेत स्थानीयको भनाइ छ । नदीबाट चोरी गरेर ल्याइएका नदीजन्य पदार्थ स्टक गरेर राख्ने र त्यहीँबाट सडकको काम भइरहेको जिल्ला अनुगमन समितिले जनाएको छ ।

त्यस्ता नदीजन्य पदार्थको स्टक प्रमाणित गरी लिलाम प्रकृया अघि बढाइने अनुगमन समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले बताउनुभयो । निर्माण कम्पनीले भने नदीजन्य पदार्थको अभाव भएकाले स्थानीयबाट खरिद गरेर प्रयोग गर्ने गरिएको जनाएका छन् ।

त्यसरी ल्याउने नदीजन्य पदार्थ चोरीका हुन् वा के हुन् भन्ने बारे आफूलाई जानकारी नभएको नारायणचोक–त्रिवेणी सडकखण्डका प्रोजेक्ट म्यानेजर प्रदिप कार्कीले बताउनुभयो । हुलाकी सडक निर्माणपछि सहज रुपमा आवतजावत गर्न पाइने भन्दै खुशी भएका स्थानीय काम सुस्त गतिमा भएकाले निराश भएका छन् ।
तसर्थ हुलाकी सडकको निर्माण कार्यलाई समयमा सम्पन्न गर्न सम्बन्धित निकायले अनुगमनका साथै ताकेता गर्नु पनि जरुरी छ । (ईमेज)