कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१३
नेपालको संबिधानले ब्यवस्था गरेको स्वास्थ्य सम्वन्धि जनताको मौलिक हकलाई अहिलेको सरकारले ब्यवहारत कार्यान्यन गर्न शुरु गरेको लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ । उहांले यसअघि भाषणमा मात्र सिमित रहेको स्वास्थ्य सम्वन्धि जनताको मौलिक हकलाई अहिलेको सरकारले ब्यवहारत कार्यान्यन गर्न देशभरका ७७ जिल्लामा नै यहि मंसिर १५ गते एकसाथ एक पालिका एक अस्पताल शिलन्यासको ब्यवस्था गर्न लागेको बताउनु भयो । आज बर्दघाट नगरपालिका वडा नं.–१२ मा स्वास्थ्य चौकी भवनको शिलन्यास गर्दै प्रदेस सभा सदस्य अधिकारीले उक्त कुरा बताउनु भएको हो । उहांले अहिले बन्न लागेको भटौलियाको उक्त स्वास्थ्य चौकीको सेवावाट वडा नं. १२ भित्रका ११ सय घरधुरी सहित सोक्षेत्र आसपासका हजारौं मानिसहरु लाभान्वित हुने बताउनु भयो । त्यसैगरी कसैले पनि अकालमा उपचार नपाएर ज्यान जानवाट जोगीने समेत बताउनु भयो ।
बर्दघाट नगरपालिका वडा नं.–१२ का वडाध्यक्ष मानबहादुर मल्लको अध्यक्षतामा भएको स्वास्थ्य चौकी भवनको शिलन्यास कार्यक्रममा वडाका जनप्रतिनिधिहरु संगै स्थानिय समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।
भटौलिया कुसुमचोक नजिकै बन्ने ४ कोठे पक्की स्वास्थ्य चौकी भवन निर्माणका लागि प्रदेश सरकारबाट ३१ लख रुपैया प्राप्त भएको छ । स्वास्थ्य चौकी भवन निर्माण कार्य पुस मसान्त भित्रै सम्पन्न हुने लक्ष्य लिईएको वडाध्यक्ष मानबहादुर मल्लले बताउनु भयो ।